प्युठान- भिंगृ–स्वर्गद्वारी सडकखण्ड दुर्घटनाका लागि दुर्नाम छ। गत जेठ २९ गते यही सडकखण्ड अन्तर्गतको टाकुरामा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र रहेको स्वर्गद्वारी दर्शन गर्न आउने–जाने क्रममा यसअघि पनि धेरै सवारी दुर्घटना भइसकेका छन्। जसका कारण कतिको ज्यान गएको छ भने कयौं घाइते भएका छन्।
जनस्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक बन्दै गइरहेकोे त्यो मार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उपाय जरुरी थियो। त्यसका लागि समाधानको सही मार्ग खोज्नु आवश्यक थियो। स्वर्गद्वारी नगरपालिकाको पहलमा अहिले केही उपायहरु पहिल्याएर लागू गरिएको छ, जसले दुर्घटना न्यूनीकरण गराउँदै लगेको छ।
मनोकामना पूरा गर्न पवित्र धार्मिकस्थलतिर जानुअघि मन ढुकढुक हुने अवस्थालाई रोक्न विभिन्न कामहरु गरिएका छन्। नगरपालिकाले यातायात व्यवसायीहरु, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीसँग संयुक्त रुपमा छलफल गरेर क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिएको मेयर टेकप्रसाद भण्डारी बताउँछन्। उनी भन्छन्, ‘अटो रिक्साका लागि त्यो बाटो अलि बढी जोखिम हुने हुनाले सकेसम्म नचलाउने भनेका छौं। चलाउनैपर्ने अवस्थामा निश्चित यात्रु संख्या तोकिएको छ।’
जोखिमयुक्त सडकमा अभ्यस्त ड्राइभरले मात्रै सुरक्षित सवारी हाँक्न सक्ने नगरपालिकाको ठहर छ। त्यस कारण नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जिल्ला बाहिरबाट आएका गाडीहरुलाई उक्त बाटोमा चल्न नदिने निर्णय लिएको छ। जुन कुरा बोर्डमार्फत पनि जानकारी दिइएको छ।
स्वर्गद्वारी पुग्नका लागि धेरै घुम्ती छिचोल्नुपर्छ भने बाटो समेत साँघुरो छ। ठूला गाडीका लागि धनवाङ हुँदै जाने वैकल्पिक बाटोको व्यवस्था गरिएको थियो। तर ठूला गाडीले त्यसमा असहमति जनाए र अहिले घुम्ती मोडहरुमा रहेका साँघुरो बाटोलाई केही फराकिलो बनाइएको छ।
ओरालो झर्दा १५ मिनेट रोक्नैपर्ने
गाडीहरु माथि जाने क्रममा भन्दा तल झर्ने क्रममा बढी दुर्घटना भएको तथ्यांकले देखाएपछि अहिले नयाँ उपाय अपनाइएको स्वर्गद्वारीका उपमेयर मीनराज रानामगर बताउँछन्। उनी भन्छन्, ‘दुर्घटनाका घटना बढ्न थालेपछि जिल्ला प्रशासन, सुरक्षाकर्मी र नगरपालिकाले संयुक्त छलफल गरी स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने यातायातका साधनहरु ओरालो बाटो झर्दा धेरै तातिएर ब्रेक नलाग्ने समस्या हुन सक्ने बुझियो। त्यसैले माथिबाट गाडी झर्दा प्रहरीको निगरानीमा रही कम्तीमा पनि १५/२० मिनेट भिंगृकोटमा रोक्नुपर्ने हुन्छ।’
यात्रु र चालक त्यहाँ रोकिएर फ्रेस भएपछि फेरि ओरालो झर्ने गर्छन्। जसले दुर्घटनामा कमी ल्याएको बुझाइ नगरपालिकाको छ। स्वर्गद्वारी दर्शन गर्न टाढा–टाढाबाट भक्तजन आउँछन् तर उनीहरुलाई त्यहाँ बाटोको जोखिमबारे उति जानकारी हुँदैन। उनीहरुको सुरक्षालाई ध्यानमा राखेर स्वर्गद्वारी प्रवेशद्वार, धरमपानी बसपार्क लगायतमा ‘यहाँको बाटो साँघुरो छ, गाडी विस्तारै हाँक्नुहोस्’ जस्ता सन्देशमुलक सामग्री नै बजाउने गरिएको बताइएको छ।
सुरक्षाका लागि ११ करोड बजेट
बाटोको स्तरोन्नति र सुरक्षित बनाउन अहिले संघ र प्रदेश सरकारले ११ करोड रुपैयाँ छुट्याएको छ। यो बजेटले सडकलाई थप फराकिलो बनाउनुका साथै बाटोको साइडमा रेलिङ राख्ने काम हुनेछ। जसका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको उपमेयर रानाले जानकारी दिए।
‘वर्षेनी सवारी दुर्घटनामा परेर धेरै जनाको ज्यान जाने गरेको भिंगृ–स्वर्गद्वारी सडक क्षेत्रमा दुर्घटना रोक्न सडक सुरक्षाका काम हुन थालेको छ। सडक बोर्डमार्फत ११ करोड बजेटको व्यवस्था गरेर सडक सुरक्षाको काम थालिएको सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए। यसका लागि सडक डिभिजन कार्यालय प्युठानले बोलपत्र आह्वान समेत गरिसकेको उनले बताए।
भिंगृ–स्वर्गद्वारी सडक खण्डको ९चेनेज ०ं००० देखि १४ं०००० मा सडक पूर्वाधार विकास कार्यालय, प्युठानले लगाएको ठेक्का बाहेकको स्थानमा सडक सुरक्षाका काम गर्न थालिएको कार्यालयले जनाएको छ। सडक पूर्वाधार विकास कार्यालय प्युठानमार्फत ठेक्का भएको रुमाले र घडेरी क्षेत्र बाहेक भिंगृ–स्वर्गद्वारी सडक १४ किलोमिटर सबै क्षेत्रमा सडक सुरक्षा अन्तर्गत काम गर्ने गरी ठेक्का भएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ।
स्वास्थ्यमा ३ स र गर्भवतीका लागि एम्बुलेन्स
स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै अन्य विभिन्न कामहरु पनि सँगै गरिरहेको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसी बताउँछन्। डेंगु र स्क्रव टाइफस नियन्त्रणका लागि नगरपालिकाका ९ वटा वडामा ११३ वटा टोल विकास संस्था गठन गरिएको उनले बताए।
‘टोल विकास संस्थामार्फत नगरपालिका तहमा ‘लामखुट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार विद्यालय र कार्यालय सरसफाइ र हप्ताको शनिबार टोल–बस्ती सरसफाइ कार्यक्रम गरिरहेका छौं,’ उनले भने।
स्वास्थ्य प्रवद्र्धनका लागि ‘३ स अभियान हाल सञ्चालमा रहेको उनी बताउँछन्। केसीले भने, ‘स– सफा चर्पी, स– सफा भान्सा र स– सफा घर–आँगन र हराभरा करेसाबारी रहेको उनी बताउँछन्।
आर्थिक वर्ष २०७९/०८० देखि नगरपालिका भित्रका गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। आकस्मिक रुपमा अस्पताल जानु परेमा भाडा वापतको रकम भुक्तानी गर्ने नगरपालिकाले तय गरेको छ। जिल्ला बाहिर जान परेमा एकतर्फी भाडाको व्यवस्थापन गर्ने गरेको केसी बताउँछन्।
उनले भने, ‘शून्य होम डेलिभरी बनाउने अभियान सञ्चालनमा छ। यही आर्थिक वर्ष भित्र कम्तीमा ३ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिनेछ। त्यसका लागि आवश्यक बजेटको विनियोजन गरिएको छ।’
यसअघि नै पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भइसकेको छ। मातृ मृत्यु गत आर्थिक वर्षमा १ मा झारिएको छ र शिशु
मृत्यु ३ रहेको छ। शिशु मृत्यु पनि शून्यमा पुर्याउले लक्ष्य रहेको मेयर भण्डारी बताउँछन्।
गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी महिलाहरुको पाठेघरको जाँच, भिडियो एक्सरे लगायतका सेवा प्रदान गर्ने गरेको केसीले बताए।
गत आर्थिक वर्ष २०७९/०८० मा ४० वर्ष माथिका ६ सय ४ जना महिलाको भीआईए परीक्षण गर्दा १६ जनामा क्यान्सरको जोखिम देखिएको थियो। ती १६ जनामध्येबाट पुनः परीक्षणमा १४ जनाको क्यान्सर पहिचान भएको थियो। तीमध्ये धेरै जनामा चौथो स्टेजको क्यान्सर देखिएको थियो। उनीहरु सबैको निःशुल्क उपचार गरिएको केसी बताउँछन्।
यसैगरी नगरपालिका भित्र अलपत्र परेका २० जना मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था नगरपालिकाले गरेको छ।
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा स्वर्गद्वारी नगरपालिकाको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।