काठमाडौं- नेपालको पूर्वीछेउ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उत्तरमै रहेको आंखोपमा स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत छिन् शर्मिला लिङ्देन। उनलाई देखे–भेटेकाहरु महसुस गर्छन्– शर्मिला नाम जस्ती शर्मिली छैनन्। जम्मा ८ कक्षासम्म पढ्न पाएकी उनी आफूलाई लागेका कुरा निर्धक्क राख्छिन्।
शर्मिलाको खुला स्वभावले अशिक्षाका कारण खुल्न नसकेको गाउँ–समाज स्वास्थ्य विषयमा खुल्दै गएको छ। व्यक्तिगत स्वास्थ्य, परिवार नियोजन र यौन स्वास्थ्यसँग जोडिएका विषय, बच्चाको योजना, गर्भावस्था र प्रसूतिबारे जिज्ञासा राख्न थालेको छ। जसले गर्दा स्थानीयको स्वास्थ्य जीवनमा ठूलो प्रभाव परेको छ।
१४ वर्षदेखि स्वयंसेवा गरिरहेकी उनी गाउँ–समाजका लागि बोल्नु आफ्नो कर्तव्य ठान्छिन्। उनी आफैंलाई लाग्छ, ‘म छुच्चो स्वभावको छु। तर माया पनि त्यत्तिकै गर्छु होला। त्यसैले सबैले मलाई राम्रै मानेका छन्।’
गाउँमा सन्चो–बिसन्चोबारे सोधखोज गरिरहने उनको बानी छ। गर्भवतीले आफ्नो नियमित जाँच गरेको-नगरेको पिर जति उनीहरुको घर–परिवारलाई हुन्छ, त्यो भन्दा धेरै गुना बढी शर्मिलालाई हुन्छ। बच्चालाई सुई लगाएको/नलगाएकोबारे पनि उनी नियमित जानकारी लिइरहन्छिन्।
आंखोप स्वास्थ्य चौकीका प्रमुख अनिल बुढा क्षेत्री त्यहाँ रहेका १८ जनामध्ये शर्मिला सबैभन्दा सक्रिय र जिज्ञासु रहेको बताउँछन्। ‘उहाँ बोलाएको ठाउँ समयमा आइपुग्ने, समयमा रिपोर्ट बुझाउने र नबुझेका कुरा सोध्ने गर्नुहुन्छ,’ उनले भने, ‘अरु कुरा बुझिएन भनेर भन्न हिचकिचाउँछन् तर उहाँ नबुझेको कुरा सोधिहाल्नुहुन्छ। केही नयाँ कुरा सिक्ने र जान्ने हुटहुटी भएको स्वयंसेविकाका रुपमा पाएको छु।’ सक्रियता, स्वभाव र लगनशिलताका कारण समाजमा शर्मिला प्रभावशाली रहेको बुढा क्षेत्री उनी बताउँछन्।
गाउँमा रोग–बिमारले अप्ठ्यारो पर्दा स्थानीयहरु रात–बिरात पनि उनको दैलो ढक्ढक्याउन सक्छन्। दैलोमा पुगेपछि उनी आफैंले दिने र उनले गुहार्दा पाइने सेवाबाट स्थानीयहरु लाभान्वित भइरहन्छन्। गएको हप्ता पनि सुत्केरी ब्यथाले श्रीमती छट्पटाएपछि एक जना अर्काे वडा (जुन उनको कार्यक्षेत्र होइन)का मान्छे मध्यराति शर्मिलाको दैलोमा आइपुगे।
दिनभरि बारी खनेर थाकेको ज्यान भर्खर विस्तरामा पल्टाएकी थिइन् शर्मिला। उनका आँखा लागिसकेका थिए। घडीमा १२ बजेर केही मिनेट घर्केको देखाउँथ्यो। कसैले आत्तिदै बोलाएको सुनेपछि हत्त न पत्त उनी बाहिर गइन्। आफ्नी श्रीमतीलाई ब्यथा लागेर समस्या परेको भन्दै बोलाउन आएका रहेछन्। उनले छर–छिमेकमा हारगुहार गरिन्। आफ्नै श्रीमान्लाई ब्युँझाइन् र राति नै उनलाई स्वास्थ्य चौकी पुर्याएर सुरक्षित प्रसूतिको बन्दोबस्त गरिन्।
हामीले उनीसँग कुरा गर्दा त्यही बच्चाको न्वारन खाएर आएको बताउँदै थिइन्। भन्दै थिन्, ‘म त बेस्सरी कराएर आएको सर तिनीहरुलाई। दुई छोरी छँदै थिए, राम्ररी पढाए–लेखाए भैगो त, किन छोराको रहर गरेर अर्काे सन्तान पाएको भनेर। तर अहिले त छोरै भयो सर।’
छोरा र छोरीबीचको विभेद उनलाई पटक्कै मन पर्दैन। छोराको आसाले सन्तान बढाउनेहरुलाई उनी मुखैमा भन्छिन्, ‘तपाईंलाई पनि त जन्माएको छोरीले नै हो नि।’ यही स्वभावका कारण त्यो क्षेत्रमा कार्यरत अन्य १७ स्वयंसेविका पनि शर्मिलालाई आफ्नो ‘अगुवा’ ठान्छन्। गाउँलेको पीरमर्कामा साथ दिने स्वास्थ्य स्वयंसेविकाको मर्का सरकारले आत्मसात नगरेको महसुस उनलाई बेला–मौकामा भइरहन्छ। आफू लगायत १८ जना स्वास्थ्य स्वयंसेविकाको पीर–मर्कालाई लिएर उनी आवाज उठाइरहन्छिन्।
‘सरकारले स्वास्थ्यमा कर्मचारी खटाएको छ। उहाँहरुलाई काम गर्न सजिलो पारिदिने त हामी हौं नि। हामीलाई सरकारले त्यही रुपमा लिनुपर्दैन ?’ उनले प्रश्न गरिन्। सहकर्मीहरु समाजसेवामा खटिँदा घरमा छुटेका काम देखेकी छिन् र ती कामले गर्दा परिवारमा आएको फाटो समेत नियालेकी छिन् शर्मिलाले। ‘घरमा काम हुन्छ। यता नगरी नहुने र नपुगी नहुने काम आउँछ। कति संघर्षशील साथीहरु देखेकी छु, जसले समाजको काममा प्राथमिकता दिँदा घरको काममा बाधा पुगेको छ,’ उनले भनिन्, ‘उनीहरुका बारेमा सरकारले सोचिदिनुपर्यो नि।’
शर्मिला आफ्ना अन्य १७ महिला स्वास्थ्य स्वयंसेविकाको समेत नेतृत्व गरेर सम्बन्धित ठाउँमा यस्तो आवाज उठाइरहेकी हुन्छिन्। तर सुनुवाइ भने भइरहेको छैन। ‘विकास निर्माण भनेर हुने बाटो, खानेपानी, बिजुली, निर्माणमा प्रशस्त पैसा छुट्याइन्छ, त्यहाँ भ्रष्टाचार समेत हुन्छ। बरु त्यताको भ्रष्टाचार रोकेर स्वास्थ्यमा बजेट हाल्नु नि,’ उनलाई यस्तै लाग्छ।
आफूहरुले त महिनाको ४ सय रुपैयाँका लागि समेत दबाब दिनुपर्ने अवस्था रहेको गुनासो गर्छिन् शर्मिला। सरकारले एउटा अंगका रुपमा स्वीकारेपछि धेरै नभए पनि महिनामा ५ हजार रुपैयाँ छुट्याइदिए राहत हुने उनको बुझाइ छ। तर आफ्नो बुझाइ सुन्नुपर्ने ठाउँकाले सुन्छन् भन्ने विश्वास उनमा देखिँदैन। दूरदराजमा बस्ने आफूजस्ताहरुको आवाज सुन्न कोही कहिल्यै नपुगेको उनी बताउँछिन्। ‘सरहरु कसरी आइपुग्नुभयो थाहा छैन, हामी गाउँघरमा बस्नेलाई सोध्न–खोज्न कोही आउँदैन,’ उनले थपिन्।
उमेरले ३६ वर्ष पुगेकी शर्मिला स्वास्थ्य स्वयंसेविकाका रुपमा काम गर्न थालेको १४ वर्ष भयो। उनले स्वास्थ्य स्वयंसेविकामा दाबी पेस गर्नुअघि त्यसलाई लिएर गाउँमा विवाद थियो। त्यसैले नियुक्त हुन सकेका थिएनन्। उनी अघि सरेपछि सबैले स्वीकार गरे। छोराको स्वास्थ्यमा समस्या भएपछि लामो समय उपचारका लागि उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बसेर फर्केकी थिइन्। छोराको स्वास्थ्यमा पूर्णतः सुधार आएन। एउटा खुट्टामा अर्ध पक्षघात जस्तो समस्याबाट उनका छोरा अझै पीडित छन्।
आफैंलाई परेपछि उनले स्वास्थ्यलाई अझ नजिकबाट बुझेकी थिइन्। महत्व अझै धेरै महसुस गरेकी थिइन्। त्यसैले स्वास्थ्यका विषयमा आफूले सिकेर अरुलाई बुझाउन सक्ने उनको आत्मविश्वास थियो। गाउँलेहरु उनको स्वभावबाट प्रभावित थिए। स्वयंसेविका रहँदा छोराको उपचारमा पनि भरथेग होला भन्ने समेत लाग्यो कतिलाई र उनका लागि समर्थन जुट्यो।
महिला स्वास्थ्य स्वयंसेविकामा दाबी गर्नुको कारणबारे शर्मिलाले भनिन्, ‘कुनामा बसेर उज्यालो देखिँदैन नि सर। त्यसैले बाहिर निस्किने प्रयास गरेकी हुँ।’ झापामा जन्मे–हुर्केकी उनले ८ कक्षाभन्दा बढी पढ्न पाइनन्। समथरमा हुर्किएकी उनी विवाह भएपछि उकालो–ओरालोमा अभ्यस्त हुनुपर्यो। आफ्नै र समाजका लागि केही न केही गर्ने हुटहुटीले उनी स्वास्थ्य स्वयंसेविकातर्फ डोर्यायो। गाउँलेले गरेको विश्वासलाई हालका मितिसम्म शर्मिलाले डगमगाउन दिएकी छैनन्।
०००
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा शर्मीलाको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।