काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ।
शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो। कार्यदल भने समितिको आगामी बैठकमा बनाइने छ ।
समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गर्न र समाधानका उपायहरु खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमती भएको जानकारी दिए।
शुक्रबारको बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) सँग छलफल भएको थियो।
समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।