काठमाडौं- कान्ति अस्पतालमा बालिकाको ज्यान गएको विषयमा छानबिन समिति गठन भएको छ।
अस्पतालले डा प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य भएको छानबिन समिति गठन गरेको हो। उक्त समितिलाई गत सोमबार रातको समयमा अस्पतालको इमरजेन्सी वार्डमा भएको घटनाको सत्यतथ्य पत्ता लगाई पाँच दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि कान्तिको इमर्जेन्सी कक्षमा पुर्याइएको थियो। त्यहाँ समयमै उपचार नगर्दा बालिकाको ज्यान गएको आफन्तले बताएका छन्।
बालिकाका आफन्तले उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई तत्काल उपचार गरिदिन पटक–पटक अनुनय गर्दा पनि इमर्जेन्सी विभागका कर्मचारीले पालोमा कुराउँदा अप्रिय घटना भएको बताएका छन्।