काठमाडौं- एनेस्थेसियोलोजिस्ट डाक्टर अनुजजंग रायमाझी आफूलाई ‘पेन फिजिसियन’ भन्न रुचाउँछन्। हाल निजामती कर्मचारी अस्पतालमा मेडिकल डिभिजन प्रमुखको रुपमा कार्यरत डा अनुज अप्रेसनविना पनि दुखाइको उपचार सम्भव गराउने अभियानमा छन्।
एनेस्थेसियोलोजिस्टको रुपमा विशेषज्ञ चिकित्सक बनेदेखि नै उनी सिभिल अस्पतालमा कार्यरत छन्। डा अनुजले निजामती कर्मचारी अस्पतालमा रहेर चिकित्सकीय सेवा दिन थालेको डेढ दशक भइसकेको छ।
सन् २००७ मा एमडी गर्दैगर्दा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडिजेन्ट चिकित्सक भएर काम गर्दाको समय सिकिस्त बिरामी बचाउन नसकिएको दिन सम्झन्छन् उनी। त्यतिबेला आइसीयू पाउनु जति मुस्किल थियो, आइसीयूमा भएका बिरामीलाई बचाउन त्यति नै कठिन।
‘आइसीयूमा यति धेरै मान्छे बित्ने रहेछन्, मैले आफन्तलाई तपाईंको बिरामी मर्दैछ भन्न मात्र ड्युटी गरेजस्तो लाग्थ्यो,’ डा अनुज सम्झन्छन्, ‘१० जना बिरामी भर्ना हुँदा मुस्किलले एउटा बचाइन्थ्यो।’
‘आइसीयूमा पुगेर बिरामी बचाउन नसक्नुभन्दा आइसीयूमै पठाउनु नपरे कस्तो हुन्थ्यो?,’ अनुज त्यतिबेला सोच्ने गर्थे।
त्यही कारण उनलाई रिजनल एनेस्थेसियातिर रुचि बढ्यो। ‘पूरै बेहोस गराउनु र एउटा अंग मात्र लट्याउनुमा आकाश–जमिनकै फरक पर्छ। रिजलन एनेस्थेसियाबाट बिरामी बचाउन पो सकिन्थ्यो कि !,’ उनले सोचे।
पछि त रिजनल एनेस्थेसियाबाट उपलब्धि देखिन थाल्यो। हात–खुट्टा वा ढाडको अप्रेसनमा बेहोस बनाउनै परेन। पित्तथैलीको शल्यक्रियाका लागि पनि बेहोस नगराई सम्भव हुने भयो।
हाल उनी एक वर्षदेखि ढाडको नसा च्यापिएको, ढाड खिइएको वा जनै खटिरा आएको, कुनै पनि दुखाइलाई अप्रेसन, फिजियो वा औषधिले सन्चो नभएका बिरामीको दुखाइ कम गर्ने प्रयासमा छन्।
अप्रेसन गरेर दुखाइ निको नभएका बिरामीहरू अनुजको उपचारबाट खुसी भएका छन्।
अनुजले ‘पेन म्यानेजमेन्ट’बारे पढ्न चाहँदा यसबारे छुट्टै कोर्स नै थिएन। उनले आफैं ‘सेल्फ स्टडी’ गरे।
सिए बन्ने सपना
आजभोलि विभिन्न समस्याले दुखाइ बढेका बिरामीहरु डा अनुजलाई खोज्दै निजामती अस्पतालमा आइपुग्छन्। पेन म्यानेजमेन्टमा उनको लगाब बढ्दै गएको छ। डेढ दशकदेखि चिकित्सा पेसामा रमाइरहेका डा अनुजको बाल्यकालको सपना भने चिकित्सक बन्ने थिएन।
उनी त चार्टर्ड अकाउन्टेन्ट (सीए) बन्न चाहन्थे। तर बुबा–आमाको चाहना छोरालाई डाक्टर बनाउने नै थियो।
अनुज नवलपरासीमा जन्मिए। शिक्षित परिवारमा जन्मिएका अनुजको परिवारमा पढ्नुपर्छ भन्ने सोचाइ थियो। उनलाई पढाउन परिवारले नेपाल पुलिस स्कुलमा भर्ना गरिदिएका थिए।
उनी कक्षा १० सम्म नेपाल पुलिस स्कुलको होस्टलमा हुर्किए। कक्षा ८ मा पुग्दा अनुजले आफू गणितमा तीक्ष्ण रहेको थाहा पाए। एसएलसीमा पनि उनले गणितमा ९५ प्रतिशत ल्याए। गणितमा राम्रो नम्बर आउँदा नै उनले सोचेका थिए– म कमर्स पढ्छु।
२०५० सालमा अनुजले एसएलसीमा ७० प्रतिशत नम्बर ल्याए। त्यतिबेला ७० प्रतिशत ल्याउनु भनेको ठूलो कुरा थियो। उनले बुबा–आमालाई आफू कमर्स पढ्ने सुनाए। तर उनको कुरा परिवारले मानेन। ‘परिवारमा अरु पनि विज्ञानको पृष्ठभूमिको हुनुहुन्थ्यो। ‘जबर्जस्ती आईएससीमा भर्ना भएँ,’ उनले सुनाए।
अनुजले आईएससीपछि चाहिँ स्नातकमा कमर्स पढ्छु भन्ने सोचे। लागेको थियो, ‘त्यतिन्जेल त बुबा–आमालाई कन्भिन्स गर्न सक्छु।’
त्रिभुवन विश्वविद्यालयमा आईएससी पढ्ने बेलामा उनले विद्यार्थीकालको स्वतन्त्रता पहिलो पटक महसुस गरे। ‘आईएससीमा फरक ठाउँ र पृष्ठभूमिका साथीहरू भेटिए। नयाँ जोस र नयाँ माहोलले २ वर्ष बितेको पत्तै भएन,’ उनी भन्छन्।
स्नातकमा कमर्स पढ्ने प्रयत्नमा उनको एक वर्ष खेर गयो। जति प्रयास गरे पनि सम्भव भएन। बुबा–आमाले उनलाई एमबीबीएस पढ्न बंगलादेश पठाए।
जनरल मेडिकल काउन्सिल बंगलादेशमा उनको एमबीबीएसको पढाइ सुरु भयो। तर पढाइमा मन बसेन। उनलाई दोस्रो वर्षसम्म पढाइ छाड्ने सोच मात्र पलाइरहन्थ्यो। पढाइमा लगाव त्यतिन्जेल कहिल्यै गएन।
तेस्रो वर्षमा प्रवेश गरेपछि भने उनलाई लाग्यो, ‘अब गम्भीर भएन भने विकल्प छैन। अब छाडें भने त करिअर नै बिग्रन्छ।’
एमबीबीएसपश्चात् डा अनुजले नेपालका अस्पतालहरूमा इन्टर्नसिप गरे। त्यतिन्जेल उनको रुचि एनेस्थेसियामा बढिसकेको थियो।
एनेस्थेसिया पढ्न सन् २००७ मा उनको स्कलरसिपमा नाम निस्कियो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एनेस्थेसिया पढे।
सुरुमा पहिलो वर्ष त उनलाई सरले भन्थे, ‘यो विद्यार्थी तीन वर्ष त बस्ला जस्तो छैन। एक वर्षमै ड्रप गर्ला।’ तर दोस्रो वर्षबाट अनुजको लगाव देखेपछि तिनै सरले भन्न थाले, ‘तिमीले राम्रो गर्छौ।’
‘सुरुमा सरले बुझ्नुभएको थियो– पढ्न त राम्रो छ। तर यसलाई रुचि छैन। तर पछि पढाइमा रुचि बस्दै गएपछि उहाँले सकारात्मक रुपमा लिनुभयो,’ अनुज भन्छन्।
सन् २०१० को जुलाईमा एनेस्थेसियाको कोर्स सकियो। अगस्टमा उनले काठमाडौंको सिभिल अस्पतालमा काम गर्न सुरु गरे।
सिभिल अस्पतालमा सुरुका दिन त उनी निराश भए। धरानमा दिनमा कम्तीमा पनि २०÷२५ वटा अप्रेसन हुन्थे। रेजिडेन्ट अवस्थामा पनि भ्याइ–नभ्याइ हुन्थ्यो। निजामती कर्मचारी अस्पताल त्यतिबेला भर्खरै मात्र स्थापना भएको थियो। ‘यहाँ त महिनामा १० वटा अप्रेसन बल्ल हुने। कामै नपाएको जस्तो भयो,’ उनी भन्छन्।
एनेस्थेसियोलोजिस्ट भएपछि झन् हेर्ने बिरामी नै कम भए। दुई वर्षसम्म एनेस्थेसियाका खासै बिरामी नआएपछि एक किसिमको दिक्दारी बढ्यो। छोडौं जस्तो पनि लाग्यो। ‘त्यतिबेला हस्पिटलका निर्देशक डा विमल थापा हुनुहुन्थ्यो। उहाँले कन्भिन्स गर्दै भन्नुभयो– बस्नु डा साप। राम्रो हुन्छ,’ उनी सुनाउँछन्।
एक पटक महिनामा सय वटा अप्रेसन भयो। त्यतिबेला भने चिकित्सकहरूले सिभिलमा उत्सव मनाएका थिए। ‘महिनामा सय वटा अप्रेसन भयो भनेर पार्टी खाएका थियौँ। तर धरानमा त दिनमै कम्तीमा पनि २५ वटा हुन्थ्यो,’ उनी सम्झिन्छन्।
विस्तारै त्यो संख्या बढ्दै गयो। उनले काममा आनन्दानुभूति गर्न थाले। अहिले भने कम्तीमा दिनको १०÷१२ वटा अप्रेसन हुन्छ सिभिल हस्पिटलमा।
विस्तारै अनुजको रुचि रिजनल एनेस्थेसियातिर बढ्यो। उनले आफ्नो लगाव पनि त्यतातिर बढाउन थाले।
हामी बेहोस बनाउने डाक्टर होइनौं, नदुखाउने डाक्टर हौं
एनेस्थेसियोलोजिस्टलाई कतिपय बिरामीले बेहोस बनाउने डाक्टर भनेर चिन्छन्। तर उनी यो सम्बोधनलाई स्वीकार गर्दैनन्। ‘एनेस्थेसिया भनेको नदुखाउने, एउटा अंग मात्र लठ्याउने एउटा विधि हो। हामी बेहोस बनाउने हैनौँ, नदुखाउने डाक्टर हौँ,’ उनी भन्छन्।
डाक्टहरूलाई आफ्नो काममा सन्तुष्टि केले दिन्छ? बिरामीको स्वास्थ्यमा आएको सुधार र उनीहरूले दिएको प्रतिक्रियाले। कतिपय बिरामीले निको भएपछि दिएको ‘धन्यवाद’ले आफूहरूलाई काम गर्न हौस्याइरहने अनुज बताउँछन्। कतिपय बिरामीले ज्यान जोगाएकोमा डाक्टरप्रति कृतज्ञ भएका सम्झना थुप्रै छन् उनको सम्झनामा।
तर, कहिलेकाहीँ प्रयास गर्दागर्दै पनि बचाउन नसकिएका बिरामीका आफन्तले भनेको कुरा उनी कहिल्यै भुल्दैनन्।
एक जनाको एपेन्डिसाइटिस र अर्काे पेनक्रियाजको समस्या भएका बिरामी थिए। दुईमध्ये एक जना धेरै रक्सी पिउने बिरामी थिए। उनलाई आईसीयूमा राखेर उपचार गरिरहनुपरेको थियो। डाक्टरहरूको टिमले आफ्नो तर्फबाट सतप्रतिशत प्रयास गरिरहेका थिए। एक पटक बिरामीको टाढाका भिजिटर आएर आक्रोशित बनेछन्, ‘यत्रो दिन राखिसकियो। सुधार छैन। तपाईंहरू लापरबाही गर्ने?’
तर, बिरामीको बुबा आएर भन्नुभयो– उहाँ टाढाको मान्छे हो। छोराको गल्ती मलाई थाहा छ। तपाईंहरूको प्रयास मलाई थाहा छ। तपाईं म र उसकी श्रीमती (बुहारीतर्फ देखाउँदै) सँग मात्र कुरा गर्नुहोला। अरुको कुरा नसुन्नुहोला। ‘यति भन्दा पनि मोटिभेट भइने रहेछ,’ डा अनुज सुनाउँछन्।
पछि ती बिरामीलाई निकै प्रयत्नका बाबजुद पनि बचाउन सकिएन। पछि बिरामीका आफन्तले आएर भने, ‘तपाईंहरूले मिहिनेत गर्नुभयो। तर तपाईंहरूको हातमा थिएन। जति गर्नुभयो धेरै धन्यवाद।’
अर्का बिरामीलाई पनि बचाउन सकेनन्। अब बिरामीका आफन्तहरूले के पो गर्ने हुन् भनेर असुरक्षित महसुस गरे उनले। ‘तर उहाँको आफन्तले पनि हात मिलाउँदै हामीले गरेको मिहिनेतलाई धन्यवाद दिनुभयो। त्यसले सकारात्मक ऊर्जा मिल्यो,’ उनी सम्झन्छन्।
०००
बिरामीको स्वास्थ्य निकै संवेदनशील कुरा हो। यस्तो बेलामा चिकित्सकहरूले कतिपय बेला आफ्नो चार्डपर्व पनि भन्न पाउँदैनन्। एक पटक दशैंको टीकाको साइतको ५ मिनेट बाँकी रहँदा उनले टीका लगाउन छाडेर हस्पिटल जानु परेको छ।
‘कतिपय बेला २४सै घण्टा पनि ड्युटी गर्नुप¥यो। बिदामा हुँदा वा भ्रमणमा जाँदा पनि फोनबाटै ड्युटी गरिहरहनुपर्यो,’ उनी सम्झिन्छन्।
अहिले भने अनुज ‘पेन म्यानेजमेन्टमै व्यस्त छन्। दुखाइका बिरामीको संख्या बढ्न थालेको छ। कतिपय बिरामीको दुखाइ शल्यक्रिया वा थेरापीबाट पनि निको नहुँदा डा अनुजकहाँ आइपुगेका छन्।
‘त्यसकारण अहिले म तत्कालीन दुखाइभन्दा पनि दीर्घकालीन दुखाइ कम गराउनतिर केन्द्रित छु,’ डा अनुज भन्छन्।