काठमाडौं– काठमाडौं महानगरपालिकाले पेय पदार्थ कोकमा अखाद्य वस्तु मिसाएर बिक्री वितरण गरेको भन्दै एक बिक्रेतालाई एक लाख ५० हजार जरिवाना तिराएको छ।
महानगरपालिकाले बागबजारस्थित कालिञ्चोक ट्रेनिङ नेपाललाई बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को (ड) घ बमोजिम एक लाख ५० हजार जरिवाना तिराएको हो।
उक्त रकम आजको मितिले सातदिन भित्र बजार अनुगमन समितिको राजस्वमा जम्मा गरी बैक भौचर बुझाउन निर्देशनसमेत महानगरले दिएको छ। उक्त अवधिमा रकम नबुझाएको अवस्थामा सोही ऐनको दफा ३०को उपदफा ३ बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
साथै अखाद्य वस्तु भेटिएको पेय पदार्थको उत्पादन बजारमा उपभोक्ताहरुसमक्ष पुग्नु अगावै तुरुन्तै फिर्ता लैजान, सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाटै रिजेक्ट गर्ने लगायतका निर्देशन महानगरले बिक्रेतालाई दिएको छ।