काठमाडौं– बुधबार बिहान ७ बजे। थापाथलीस्थित प्रसूति अस्पतालको टिकट काउन्टरनिर मान्छेहरू भरिभराउ थिए। कोही महिला सिटमा बसेका थिए भने कोही उभिइरहेका। सबैजना आफ्नो टिकट काट्ने पालो कुरेर बसिरहेका थिए।
त्यहीँको एक कुनामा उभिन नसकेर एक गर्भवती महिला भुइँमा थचक्कै बसिन्।
उनको हातमा गर्भवती महिलाले अस्पताल आउँदा छुटाउन नहुने पहेँलो कार्ड थियो। कार्डमा उनको नाम प्रस्टै देखिन्थ्यो–सावित्रा ब्लोन, उमेर– ३२।
उनी टिकट काउन्टर कतिबेला खुल्ला भनेर पर्खिरहेकी थिइन्।
अनुहारमा चिडचिडाहट बोकेर उनी यताउती हेरिरहेकी थिइन्। सावित्राले मेचमा बसिरहेका युवाहरूलाई ठूला आँखाले हेरिन्। अनि रिसाउँदै छेउकी महिलालाई सुनाइन्, ‘गर्भवती महिलाहरू उभिइरहेका छन्। यी केटाहरूले किन नबुझेका? लाजै नमानी मेचमा बसेका छन्।’
‘त्यही त, कस्तो मानवता नभएको मान्छे। नसक्नेहरू सकिनसकी उभिएका छन्,’ छेउकी महिलाले थपिन्।
करिब सवा आठ बजेपछि टिकट काउन्टर खुल्यो। ‘टिकट काट्ने मान्छे पनि आएजस्तो छ,’ साबित्राले काउन्टरतिर हेर्दै भनिन्।
‘तपाईंको पालो कति हो,’ सावित्रालाई छेउकी महिलाले सोधिन्। ‘हेरिदिनु त कति छ?’ सावित्राले टोकन देखाइन्।
महिलाले टोकन हेरिदिइन्। सावित्राको पालो ५४ जना पछाडि रहेछ। ‘यहाँ टोकन पनि लिनुपर्छ र?’ सावित्राको छेउनिर उभिएकी शान्ता गैरेले सोधिन्।
‘टोकन नलिए त टिकट पाइँदैन। तपाईं धेरै पहिला आएको जस्तो लाग्छ। अझैसम्म टोकन लिनुभएको छैन?,’ अर्की महिलाले भनिन्।
‘अहँ, छैन नि लिएको। यहाँनिर टोकन लिने ठावैँ थाहा भएन। कहाँनेर लिने?’ शान्ताले अलमलिँदै सोधिन्।
सावित्राले परतिरको गेट देखाउँदै भनिन्, ‘तपाईंको पालो धेरै पछाडि पर्ने भो। छिटो जानुस्।’ शान्ता टोकन लिन गेटतिर लागिन्।
सावित्रा र अर्की महिला अस्पतालको व्यवस्थापनमाथि गुनासो गर्न थाले। ‘टोकन उता अगाडिको गेटबाट दिने भएको भए सजिलो हुन्थ्यो। सबै मान्छे त्यतैबाट आउँछन्। कता उल्टोतिर राखेको होला?’ अर्की महिलाले भनिन्।
‘पहिला यहीँ अगाडि दिन्थ्यो। अहिले उता सारेको रहेछ। टोकन यता छ है भनेर देखाइदिएको भए सजिलो हुन्थ्यो,’ सावित्राले भनिन्, ‘यहाँ गार्डलाई सोध्यो भने पनि बताइदिँदैनन्। उल्टै झर्कीफर्की गर्छन्।’
टोकन लिन आउने महिलाहरू प्रायः अलमलिने रहेछन्। ती महिलाको भनाइ थियो, ‘टोकन लिने ठाउँ भनेर संकेत राख्दा सजिलो त हुन्थ्यो।’
केहीबेरमा शान्ता टोकन लिएर त्यहीँ आइपुगिन्। एक घण्टा अगाडि आइपुगेकी उनी टोकनै नलिई बस्नाले पछाडि परेकी थिइन्। उनको टोकन नम्बर ३३५ थियो।
शान्ता टौदहबाट साँढे पाँच बजे हिँडेकी रहिछन्। ६ः१५ मा अस्पताल आइपुगेको उनले सुनाइन्। उनी प्रसूतिगृहमा पहिलो पटक गर्भ जाँच गराउन आइपुगेकी थिइन्।
केहीबेरमा सुरक्षा गार्डले टोकन नम्बर पढेर बोलाउन थालिन्। आ–आफ्नो पालामा महिलाहरूले टिकट काटे र ओपीडि वार्डमा छिर्न थाले। सावित्रा र अर्की महिला पनि टिकट काटेर ओपीडिमा पसे। डेढ घण्टापछि मात्र शान्ताको पालो आयो। उनले टिकट काटिन्। र ओपिडीमा छिर्दै गर्दा ढोकैमा भएकी सुरक्षा गार्डलाई कार्ड देखाएरसोधिन् ‘कहाँ जाने हो अब।’
‘सिधै माथि जानुस्,’ गार्डको रुखो जवाफ थियो।
त्यसपछि शान्ता एक तलामाथि पुगिन्। ‘गर्भवती महिला एनओसी ओपिडी’भित्र पसिन् । चेकजाँचका लागि लाइनमा बसिन्। आधा घण्टा लाइन बसेपछि ब्लडप्रेसर जाँच गर्ने पालो आयो।
तर उनको जाँच हुने दोस्रो तलामा रहेछ।
‘तपाईंको त यहाँ होइन नि, माथि हो। यहाँ पहेंलो कार्ड हुनेको मात्र हो। अब एक तलामाथि जानुस्,’ कार्ड हेर्दै सेतो एप्रोन लगाएकी नर्सले भनिन्।
शान्ता केही नबोलीकन माथिल्लो तलातिर लागिन्। त्यहाँ निकै लामो लाइन लागिसकेको थियो। लगभग डेढ घण्टा पछि पालो आयो।
शान्ता भित्र गइन्। केहीबेरमा बाहिर आएपछि सुनाइन्, ‘डाक्टरले भिडिओएक्सरे, पिसाब/रगत जाँच गराउन भन्नुभयो।’
बिल भुक्तानी गर्न फेरि टिकट काउन्टरमै जानुपर्ने भयो। उनी तल झरिन् र बिल भुक्तानी गरेर पहिलो तलामा पिसाब जाँचका लागि लाइन लागिन्। आधा घण्टापछि शान्ताको पालो आयो।
नर्सले पिसाब र रगतको रिपोर्ट लिन ३ दिन पछि आउनू भनिन्।
त्यसपछि भिडिओ एक्सरे गर्ने कक्षमा पुगिन्। त्यहाँ पनि उत्तिकै भीड। एउटी महिला बिल लिएर भिडिओ एक्सरेको कोठामा पुगिन्। उनले त्यहाँको गार्डलाई एक्सरे गर्ने कहाँ भन्दै सोधिन्। उनको बिल थुत्दै गार्डले रुखो स्वरमा भनिन्, ‘बाहिर बस्नुस्। म पालो आएपछि बोलाउँछु।’
करिब १ घण्टापछि शान्ताको पालो आयो। भिडियो एक्सरे भयो। तर रिपोर्ट उत्तिखेरै आएन।
‘रिपोर्ट खोइ त डाक्टर साब,’ उनले भिडिओ एक्सरे गराउने टेक्निसियनलाई सोधिन्। ‘तपाईं बाहिर गएर बस्नुस्। डेढ घण्टापछि आउँछ,’ टेक्निसियनको जवाफ थियो।
‘एकैछिनमा आउनुपर्ने हो यसको रिपोर्ट, किन डेढ घण्टा?’ उनले प्रश्न गरिन्।
टेक्निसियनलाई उनको कुरा सुन्ने फुर्सद थिएन। बाहिर जाने इसारा गर्दै काममा लागे। उनी बाहिर निस्किइन् र बसिन् रिपोर्टको पर्खाइमा।
दिउँसोको साढे १२ बजिसकेको थियो। रिपोर्ट अझै आइपुगेको थिएन। शान्ता थकित देखिन्थिन् यतिबेला।
शान्ता गर्भवती थिइन्। उनी पहिलो पटक यसरी अस्पतालमा चेकजाँच गराउन आएकी थिइन्। तर लामो लाइन, घण्टौंको पर्खाइ र कर्मचारीको व्यवहारले साह्रै दिक्क बनायो। भनिन्, ‘नबुझेको कुरा राम्रोसँग बुझाएको भए पनि हुन्थ्यो नि।’
‘टिकट काटेपछि यहाँ जानुस् पनि नभन्ने रहेछन्। पहिलो पटक आउँदा कहाँ के छ कसरी थाहा हुन्छ? यहाँको गार्डलाई सोध्दा पनि माथि मात्रै भन्ने,’ उनले दुःखेसो गरिन्।
१ बज्दै थियो। शान्ताको रिपोर्ट अझै आउने छाँट थिएन।
अस्पताल भरिभराउ थियो। ओपिडीको टिकट काउन्टमा उस्तै भीड थियो। सकिनकसी शान्ता जस्तै गर्भवती महिलाहरू चिडचिडाहट बोकेर उभिइरहेका थिए। गार्ड उसैगरी रुखो देखिएका थिए।
उदास अनुहार लगाएर उभिइरहेका र तलमाथि गरिरहेका महिलाहरूको भीडबाट हामी भने बाहिर निस्कँदै थियौँ।
अस्पतालका निर्देशक भन्छन्– व्यवस्थापन गर्न गाह्रो भइरहेको छ
सेवाग्राहीले सेवा पाउन व्यहोर्नुपरेको सकसबारे हामीले अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीसँग कुरा गर्यौँ।
अधिकारीले अस्पतालभित्र सेवाग्राहीले झेल्नुपरेको सास्तीलाई स्वीकार गरे। आफू अस्पतालमा आएदेखि व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न लागिपरेको उनले बताए।
भने, ‘बिरामीले २ घण्टाभित्र सेवा लिएर जाऊन् भन्ने मनसाय हो। तर व्यवस्थापन गर्न अलि गाह्रो भएको छ।’
अस्पतालको ठाउँ साँघुरो भएकाले लाइन बस्नेहरूले दु:ख पाउनुपरेको उनले बताए। अस्पतालमा दुई वटा मात्रै टिकट काउन्टर भएकाले सेवाग्राहीले घण्टौँ कुर्न परेको पनि उनले स्वीकार गरे। ‘यो समस्या समाधान गर्न थप एउटा टिकट काउन्टर राख्दैछौँ। १५ दिनमा ओपिडीको टिकट अनलाइन प्रणालीमा लैजान्छौँ,‘उनले भने।
अनलाइन सिस्टम राखेपछि लाइन बस्नेहरूको चाप कम हुने उनले बताए।
‘टोकन दिइने स्थान नदेख्नाले, सिस्टम थाहा नहुनाले पनि सेवाग्राहीले दु:ख पाइरहेका छन् नि?’शान्ताले भोगेको समस्याको प्रंसग जोड्दै हामीले सोध्यौँ।
‘टोकन दिइने स्थानमा स्पस्ट देखिने गरी बोर्डमा लेखेर राख्नेछौँ। टिकट लिने स्थानमा थप कुर्सी पनि राख्नेछौँ,’ उनले भने।
अस्पतालका केही कर्मचारी सेवाग्राहीसँग अशिष्ट देखिएको पनि सुनायौँ।
यसबारे निर्देशक अधिकारीले भने, ‘हामीले कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न आदेश दिइरहेका हुन्छौँ। तर कुनै सेवाग्राही बुझेर पनि नबुझेको जस्तो गर्दा आफूहरू झर्किन बाध्य भएको उनीहरू भन्छन्। तर त्यसो गर्न पाइन्न। हामीले सम्झाइरहेका छौँ।’