बैतडी– पाटन नगरपालिका वडा नम्बर ९ भाड्याडीकी ३९ वर्षीया जानकी विष्ट २ वर्ष अघि पाठेघरको क्यान्सरबाट पीडित भइन्। बढ्दो उमेरसँगै क्यान्सरले च्यापेपछि खर्च त भयो नै साथै उनको शरीर पनि कमजोर भयो।
शल्यक्रिया गरे पनि उनी पूर्ण रुपमा निको भने हुन सकेकी छैनन्। बेला–बेला ‘थेरापी’का लागि भरतपुर क्यान्सर अस्पताल चितवन पुग्नुपर्छ उनलाई। तर उनको यो पीडा भुलाउने माध्यम बनेको छ कृषि।
उनी व्यवसायिक कृषक समेत हुन्। जानकीले २० रोपनी जमिनमा तरकारी खेती गर्दै आएकी छन्। खाली बस्दा ढाड दुख्ने, पेट दुख्ने पीडा भए पनि जब उनी बारीमा पुग्छिन् तब लटरम्म फलेका तरकारी देख्दा राहत महसुस गर्छिन्। उनी बारीमा गोडमेलमा आफैं लाग्छिन्।
मुख्य आम्दानीको स्रोत नै उनको तरकारी हो। महिनामा २ पटक उनलाई थेरापीका लागि चितवन पुग्नैपर्छ। उपचारमा धेरै खर्च लागे पनि तरकारी बिक्री गरेर भएको आम्दानीले नै धानेको छ। उनको तरकारी खेती पुरानो भने होइन। केही समयअघिसम्म मकै खेती गर्दै आएकी थिइन्।
मकैबाट धेरै आम्दानी नभएपछि नगदे बालीका रुपमा उनले काउली, बन्दा, मुला र आलु उत्पादन गर्न थालिन्। उनलाई तरकारीको लागि बजारको समस्या पनि छैन। घरदेखि खेत करिब दुई मिनेटको दूरीमा छ। मकै लगाउँदाका बेलाजस्तो साहु खोज्नुपर्ने चिन्ता उनलाई छैन।
‘एक कल’ फोनमै व्यापारी गाडी लिएर उनको तरकारी खरिदका लागि बारीमै पुग्छन्। उनी भन्छिन्, ‘पहिला यिनै खेतमा मकै लगाउँथ्यौँ। बाली भित्र्याएपछि बिक्री गर्न समस्या हुन्थ्यो। त्यसैमाथि जंगली जनावरबाट जोगाउनै मुस्किल। अहिले तरकारी किन्न व्यापारी खेतमै आउँछन्। बजार खोज्न धाउनुपरेको छैन।’
मूल्य राम्रो पाएमा बन्दा प्रतिकिलो ५० रुपैयाँ सम्ममा बिक्री हुने गर्छ। यस्तै मूल्य घटेका बेला पनि २५ रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको उनी बताउँछिन्। वार्षिक ५ लाख रुपैयाँसम्म उनले तरकारी बिक्रीबाटै आम्दानी गर्छिन्।
उनको कृषि कर्ममा सहयात्री छन् उनका श्रीमान् कृष्ण विष्ट। उनी बाख्रा पालनमा व्यस्त छन्। दुई दर्जन बढी बाख्रा छन्। प्राय बाख्रा चराउन जंगल जाने उनी समय भएसम्म जानकीसँगै बारीमा पनि सघाउन पुग्छन्।
कृषि कर्मबाटै उनले छोरीलाई भेटेनरी जेटिए र छोरालाई कक्षा १२ सम्म पढाइसकेका छन्। ‘कृषिमा आम्दानी राम्रो छ। श्रीमतीले धेरै परिश्रम गर्थिन्। अहिले रोगका कारण केही समस्या थपिएको छ। तै पनि उनले बारीमा रेखदेख गर्ने र मिहेनत गर्न भने छोडेकी छैनन्,’ कृष्ण भन्छन्।
विष्ट परिवार मात्र होइन, भट्याडी गाउँका अधिकांश कृषकले तरकारी खेतीबाटै वार्षिक तीनदेखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन्। यहाँका स्थानीयको मुख्य पेसा नै कृषि हो।
पाँच क्विन्टल आलूको बिउ लगाएकी स्थानीय कृषक तुलसी विष्टले एक सिजनमै २ लाख रुपैयाँ आम्दानी भएको बताइन्। आलुको मूल्य ५० देखि ७० रुपैयाँ प्रतिकिलोसम्म पाइने उनको भनाइ छ।
जंगली जनावरहरु बाँदर, दुम्सी र बदेलबाट जोगाए पनि रोगका कारण भने भनेजति आम्दानी लिन नसकिएको उनी बताउँछिन्। समयमा मल, रोग लाग्दा निदानका लागि औषधि भने सम्बन्धित निकायबाट व्यवस्था नभएको उनको गुनासो छ।
उनीहरुले मलमा अनुदान, कृषि प्राविधिक र ग्रामीण कृषि सडक निर्माण गर्दा लागेको रकम उपलब्ध गराउनुपर्ने माग गरेका छन्। बोकेर बजारसम्म लैजान समस्या भएपछि गाउँकै २८ परिवारले घरसम्म जोड्ने कृषि सडक आफैं निर्माण गरेका छन्। उनीहरुले प्रति परिवार ५ देखि ३० हजारसम्म रकम उठाएर सडक निर्माण गरेका हुन्।
चालु आर्थिक वर्ष (२०८०/०८१)मा पाटन नगरपालिका वडा नम्बर ९ मा १५ प्लाष्टिक टनेल, प्रत्येक घरधुरीलाई विभिन्न तरकारीका बिउ वितरण र दुई साना सिँचाइ पोखरी निर्माण गरिएको वडाध्यक्ष कालुसिंह भाटले बताए। उनले भने, ‘कृषिमा वडाको लगानी पोखरी निर्माणदेखि तरकारीको बिउ वितरणसम्म छ हामीले धारा पनि गाउँमा ७ लाखको लगानीमा खानेपानी बनाएका छौं। त्यसले पनि तरकारी उत्पादमा सहयोग पुग्ने विश्वास छ।’
वडा नम्बर ९ का जनप्रतिनिधि तथा कृषक जयन्ती भाट विजले सुदूरपश्चिमै पहिलो भइ मुख्यमन्त्री कमलबहादुर शाहबाट नगदसहित सम्मानित भएकी थिइन्। किचार गाउँमा पनि आलुपकेट क्षेत्र घोषणा गर्ने काम भएको र तरकारी उत्पादनमा अगाडि रहेको वडाध्यक्ष भाटले बताए।
पाटन नगरपालिका बैतडीले नगरपालिकाको वडा नम्बर ८, ९ र १० मा आलु पटेक क्षेत्र घोषणा गरेर हरेक वर्ष सहयोग गर्ने गरेको नगरप्रमुख गौरीसिंह रावलले बताए। उनले भने, ‘हाम्रो राम्रो तरकारी उत्पादन हुने क्षेत्र ८, ९, १० हुन आलु पकेट क्षेत्र घोषणा गरेर बजेट दिने गरेका छौं। कृषकलाई प्रोत्साहन हुने खालले बजेट विनियोजन गर्ने गरेका छौं।’