काठमाडौं–‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरुमाथि अपरेसन चलाएको थियो।
साउन २५ गते सीआईबीले चलाएको अपरेसनको क्रममा सुरुमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य (सांसद) सुनिल शर्मा पक्राउ परेका थिए। त्यही दिन शर्मापछि सीआईबीले थप दुई जनालाई नियन्त्रणमा लिएको थियो। जसमा महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा रञ्जित कुमार यादव र त्रिवि शिक्षण अस्पतालमा काम गर्ने अमित चौधरी थिए।
जारी अपरेसनका क्रममा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। जसमध्ये शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नु भनेर जिल्ला अदालतले आदेश दिएपछि अहिले ७ जना सीआईबीको हिरासतमा छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश डन्डपाणि शर्माको इजलासले सार्वजनिक लिखत कीर्तेको कसुरमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि ७ जना अहिले सीआईबीको हिरासतमा छन्।
हिरासतमा रहेका यी ७ ‘नक्कली’ डाक्टर मध्ये एक जना भने सक्कली डाक्टर रहेको पाइएको छ। सीआईबीले नक्कली भन्दै पक्राउ गरेका बारा घर भएका रन्जित कुमार यादव नक्कली नभइ सक्कली डाक्टर रहेको खुलेको छ। सक्कली डाक्टर रहेको खुलेपछि अहिले सीआईबीमा कसरी यस्तो भयो भन्दै आन्तरिक सोधपुछ समेत गरिएको छ।
रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो। ३ दिनसम्म हिरासतमा बसेपछि सक्कली रहेको खुलेपछि यादवलाई भने सीआईबीले सुटुक्क रिहा गर्ने प्रक्रिया अघि बढाएको छ। यसबारे सोधपुछ गर्दा सीआईबीले भने केही बताउन चाहेन।
यादव सक्कली रहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनको डकुमेन्टसहितको पत्र सीआईबीलाई आज (आइतबार) पठाएको छ। काउन्सिलको उक्त पत्रपछि सीआईबीले यादवलाई छाड्ने प्रक्रिया अघि बढाएको हो। काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले भने यादवको डकुमेन्टहरु सिलबन्द गरेर सीआईबीको पठाएको पुष्टि गरे।
‘पक्राउ परेका मध्ये रञ्जितकुमार यादवको डकुमेन्टहरु सिलबन्द गरेर हामीले सीआईबीमा पठाएका छौं। अब बाँकी प्रक्रिया सीआईबी गर्ला’ अधिकारीले भने।