पत्थरीको समस्यालाई एउटा उदाहरणसँग जोड्न उचित ठान्छु। एउटा पानीको गिलासमा पानी राखौं। नुनको मात्रा बढाउने, तर पानी नथप्ने हो भने एउटा चरणमा पुगेर नुन घोलिन सक्ने क्षमता हुदैन र क्रिस्टल बन्छ। त्यसैगरी पिसाबमा पनि घोलिएर जाने तत्वको मात्रा बढी हुन थाल्यो र पानीको मात्रा कम हुन थालेमा घोलिन सक्दैन र जम्मा हुन थाल्छ। जसलाई हामी ‘सुपर स्याचुरेसन’ को अवस्था भन्छौं। त्यसपछि क्रिस्टल बन्छ र त्यसले सानो ढुंगाको आकार लिन थाल्छ। ढुंगा बन्ने सम्भावना सबैभन्दा बढी मिर्गौलामा हुन्छ र त्यहाँबाट नै तल झर्न थाल्छ। झरेको ढुंगा पिसाबनली र पिसाबथैलीमा पुग्छ। पिसाबथैली आफैमा पनि ढुंगा बन्न सक्छ।
पत्थरी हुनसक्ने कारण निकै छन्। तर मुख्यकारण भने पानीको मात्रा कम हुनु नै हो। त्यसरी पत्थरीका बिरामीलाई ज्यादा पानी पिउन सल्लाह दिइन्छ। पत्थरीले संक्रमणदेखि मिर्गौलबाट निस्कासन रोकिने र त्यसबाट मिर्गौला सुन्निँदै जानसक्छ। पछि कालान्तरमा मिर्गौला फेलियर पनि हुनसक्छ। पत्थरी भएका अंगमा इन्फेक्सन भइरहने, पिप जम्मा हुने र कतिपय अवस्थामा घाउको रुप लिने खतरा रहन्छ।
नेपालमा मिर्गौला असफल हुनुको कारणमा त्यसमा हुने पत्थरी पनि प्रमुख कारकको रुपमा रहेको छ। बेलैमा सचेत भएको भए यस्ता रोगबाट जोगिन सकिन्थ्यो। साथै प्रसस्त पानी पिउनु नै पत्थरीबाट जोगिने उत्तम उपाय हो। दिनमा कम्तिमा साढे २ लिटर पिसाब हुनेगरी पानी पिउनुपर्छ। युरिक एसिडका कारण पनि पत्थरी हुनसक्ने भएकाले नियन्त्रणमा राख्नुपर्छ। युरिक एसिड आफैले पनि पत्थरको रुप लिनसक्छ। पिसाबमा अम्लपना बढेमा पनि पत्थरी हुन्छ।
मोटोपनाले पिसाबमा अम्ल बढाउँछ। त्यसैले मोटोपना घटाउनुपर्छ। हामीले खानामा प्रयोग गर्ने रातो मासुले पनि अम्लपना बढाउँछ। पत्थरी रोकथामका लागि मसालेदार खाना खाने र सौखिन बानी व्यवहार रोक्नुपर्छ। अक्जरेट भन्ने पदार्थ भएका खानेकुराले पत्थरी बढाउनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ। उदाहरणका लागि कोल्ड ड्रिङस, चकलेट, काजु र टमाटरमा अक्जरेट हुन्छ। यस्ता खानेकुरा खाँदा विचार गर्नुपर्छ। पत्थरी भएका मानिसमा फेरि दोहोर्याएर पत्थरी हुने भएकाले ज्यादा चनाखो हुनुपर्छ।
पत्थरी भएकाहरूलाई १० वर्षको अवधिमा फेरि दोहोरिने सम्भावना करिब ५० प्रतिशत हुन्छ। पत्थरीपीडितमध्ये करिब आधाजसो दोस्रोपटक समेत पत्थरीको समस्यामा पर्ने भएकाले हामीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। पत्थरीको कारण पत्ता लगाएर त्यसको रोकथाममा ध्यान दिइयो भने धेरै हदसम्म जोगिन सकिन्छ।
डा सुबोध रेग्मी, युरोलोजिष्ट