काठमाडौं- स्वास्थ्यसम्वद्ध विभिन्न पेशागत संघ संगठन र स्वास्थ्यमा क्रियाशील ट्रेड यूनियनहरुले स्वास्थ्यकर्मीहरुको समायोजनसम्बन्धी समस्या समाधानका लागि स्वास्थ्यमन्त्रीसमक्ष सुझाव पेश गरेका छन्।
स्वास्थ्यकर्मीको व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै उनीहरुले ६ बुँदे सुझाव पेश गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रको वास्ता नगरी स्थानीय तहहरुबाट मूल समायोजन, समायोजन संसोधन र समायोजन मिलान भई गएका स्वास्थ्यकर्मीहरुलाई समेत फिर्ता गर्ने कार्य भएको भन्दै उक्त कार्य रोक्न मन्त्रालयले तत्काल अर्को परिपत्र गर्न आवश्यक भएको उनीहरुको ठहर छ।
यस्तै समायोजन मिलान भएका तर विविध कारणले पत्र तथा रमाना नपाएका र साविककै कार्यालयमा कामकाज लगाईएको वा कामकाज गरिरहेका स्वास्थ्यकर्मीहरुको गर्न समायोजन गुनासोको टुङगो लगाउनुपर्ने, समायोजन भएका कर्मचारीहरुको दरबन्दी प्रदेश लोकसेवा मार्फत पदपूर्ति भए नभएको एकिन गर्नुपर्ने सुझाव दिइएको छ।
यस्तै स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित तहहरुले हाजिर गराउने वा नगराउने बारे सुनिश्चित गर्नुपर्ने,प्रदेश अन्तर्गतका स्थानीय तहको अन्तरपालिका कामकाज वा सरुवा गर्ने कार्य प्रदेशलाई नै दिनुपर्ने तथा अदालतको फैसला अनुसारको समायोजन फैसला बमोजिम नै संसोधन हुनुपर्ने सुझाव दिइएको छ।
यसैगरी मूल समायोजन गर्दा संघ, पूल, फाजिल भनि समायोजनको पत्र पाएका र समायोजन नभएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकमुष्ठ दरबन्दी सृजना गरि कामकाजमा खटाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।
यस्तै दोहोरो सहमतिका आधारमा प्रदेश र स्थानीय तहहरुमा कामकाजमा खटाईएका स्वास्थ्यकर्मीहरुको उचित व्यवस्थापनका लागि कामकाजमा खटिएको तहमा दरबन्दी रिक्त देखिएमा सोहि दरबन्दीमा पदस्थापन मिलान गरि स्थानीय तहलाई पत्राचार गर्नुपर्ने, अन्तर तह सरुवाको मौका दिनुपर्ने र स्वैच्छिक अवकास योजना योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ।