काठमाडौं- नेपालले महामारी कोष (द पाण्डामिक फण्ड) मा हालेको प्रस्ताव छनोटमा परेको छ। नेपालले १८ मिलियन डलर अर्थात दुई अर्ब ३६ करोडभन्दा बढी रकमका लागि प्रस्ताव हालेको थियो।
नेपालले हालेको प्रस्ताव छनोटमा परेको जानकारी आए पनि कति रकम आउने हो भन्ने विषयमा भने अझै स्पष्ट जानकारी प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।
उनका अनुसार नेपालले महामारी सम्बन्धी पूर्व तयारीलाई थप बलियो र चुस्त बनाउने विषयमा प्रस्ताव हालेको थियो।
यो महामारी कोष जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको सन् २०२२ को सेप्टेम्बर मा इन्डोनेसियाको बालीमा भएको बैठकले स्थापना गरेको थियो। न्यून तथा मध्यम आय भएका देशलाई लक्षित गर्दै उक्त कोष स्थापना भएको थियो।
यो कोष कुल ३३८ मिलियन डलरको थियो। कोषमा रकम माग गर्दै १८० वटा प्रस्ताव परेका थिए। जसमा कुल रकम २.५ बिलियन डलरको प्रस्ताव पुगेको थियो। नेपालले १८ मिलियन डलरको प्रस्ताव पठाएको थियो।