काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शैक्षिक कार्यक्रमलाई संघीय अस्पतालसहित प्रादेशहरुमा समेत विस्तार गर्ने तयारी भएको छ। सरकारको नीति अनुसार नै न्याम्सले आफ्नो शैक्षिक कार्यक्रमलाई विस्तार गर्दै लैजान लागेको हो।
न्याम्सले शैक्षिक कार्यक्रमको विस्तारका लागि अध्ययन गर्न कार्यदल समेत गठन गरिसकेको छ। न्याम्सको कार्यकारी परिषदको असार ८ गते बसेको बैठकले ७ सदस्यीय कार्यदल गठन गरेको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार न्याम्सको शैक्षिक कार्यक्रम (एमडी, एमएस) अहिले कान्ति अस्पताल, प्रसूति गृह, सिभिल अस्पताल, गङ्गालाल र मानसिक अस्पताल लगनखेलमा चलिरहेका छन्। उक्त शैक्षिक कार्यक्रमलाई उपत्यकाभन्दा बाहिर नेपाल सरकारका सबै सङ्घीय अस्पतालहरूमा र प्रादेशिक अस्पतालमा पनि विस्तार गर्नका लागि अध्ययन गरी सुझाव दिनका लागि कार्यदल गठन गरिएको उनले बताए।
कार्यदल न्याम्सका शिक्षाध्यक्ष डा लोचन कार्कीको संयोजकत्वमा गठन गरिएको छ। कार्यदलमा कान्ति बाल अस्पतालका प्राडा अजित रायमाझी, भेरी अस्पतालका डा राजन पाण्डे, भरतपुर अस्पतालका डा भोजराज अधिकारी, वीर अस्पतालकी डा सन्ध्या चापागाईं र कोशी अस्पतालका डा दिपक सिग्देल सदस्य छन्। न्याम्सका डिन डा अशेष ढुंगाना भने कार्यदलका सदस्य सचिव हुन्।