काठमाडौं– काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गरेका छन्। नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयसँगै जनप्रतिनिधिले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बाटोमै रोकिदिएका छन्।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बिसर्जन गर्न नदिने भन्दै उनीहरुले आन्दोलन थालेपछि फोहोर बोकेका ट्रकहरु बाटोमा नै रोकिएका छन्।
फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले विगतमा आफूहरुले पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रेको दाबी गरेका छन्।
ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले विगतमा पटक–पटक सहमति भएको, तर कुनै पनि कार्यान्वयन नभएकाले आज (सोबार)बाट आफूहरु स्थानीयसँगै आन्दोलनमा उत्रिएको बताए।
सोमबार बिहानैदेखि वडाध्यक्ष बजगाईं सहितको टोलीले बन्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा फोहोर बोकेर गएका उपत्यकाका गाडीहरुलाई रोकेका छन्।
अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन हुन थालेको र त्यसको असर बस्तीमा पर्न थालेकाले आफूहरु विरोधमा उत्रेको उनले बताए। ककनी गाउँपालिका सँगै धादिङको धुनीबेंसीका बासिन्दा पनि आन्दोलनमा रहेको उनले बताए।
यसअघि सरकार र काठमाडौं महानगरसँग सहमति भएको, तर त्यसको एक वर्ष हुँदा पनि कार्यान्वयन नभएकाले अब फोहोर पाल्न लैजान नदिने स्थानीयहरुको दाबी छ।
ल्याण्डफिल साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका छन्।
स्थानीयको आन्दोलनपछि फोहोर बोकेका करिब ५० वटा गाडी बाटोमा अलपत्र परेका छन्।
स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याइएको आरोप लगाएका छन्। सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र व्यवस्थापन गर्ने लगायतका सहमति ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो। तर, अहिले महानगरले वर्गीकरण विना फोहोर संकलन गर्दै आएको छ र ती सबै ल्याण्डफिल साइटमा विर्सजन गर्न खोजेको उनीहरुको आरोप छ।