दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ। समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ। शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एकजनालाई रोजगारी दिने सहमति भएको लामिछानेले बताउनुभयो। पीडित परिवारका लागि आर्थिक सहयोग जुटाइने भएको छ।
सहमतिपछि बालकको शव आफन्तले बुझेका छन्। छारे रोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो। उपचारमा लापरबाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए। उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए।
मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा लामिछानेले बताए। रासस
यो पनि :
के भएको थियो अस्पतालमा?