बैतडी– बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यहाँका मुहान, संकलन गर्ने ट्यांकी र धाराहरुमा पानी परीक्षण गर्दा दिसामा हुने किटाणु कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
स्वास्थ्य कार्यालय बैतडीले चालू आर्थिक वर्षको जेठ र असारमा गरेको नमुना परीक्षणमा अधिकांश खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो। संकलन गरिएको नमुनामध्ये ५० प्रतिशत बढी मुहानहरुमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।
बैतडीमा खानेपानीका मुहान सफा गर्नुपर्ने, पानी शुद्धीकरण गरेर मात्रै पिउन आग्रह गरिएको उनले आग्रह गरे। जिल्लाका सबै पालिकाबाट स्थानीयले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमुना संकलन गरी परिक्षण गरिएको जनाएको छ। परीक्षण गरिएका मध्ये १३६ वटा मुहानको पानी पिउन योग्य छैन। ५०.८ प्रतिशत दुषित छन्।
कुन पालिको अवस्था कस्तो?
जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिकामा ३४ ओटा मुहानको नमुना संकलन गरी परिक्षण गर्दा ११ ओटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ।
पुर्चौडीमा ३० मध्ये १२, पाटनमा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त किटाणु भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यस्तै पञ्चेश्वरका १८ मध्ये १४, शिवनाथका १८ मध्ये १२, सिगासका ३७ मध्ये १०, सुर्नयाका २४ मध्ये १७ दोगडाकेदारका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ ओटा खानेपानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गर्दा १२ ओटा पानीका मुहानमा कोलिफर्म भेटिएको हो।