काठमाडौं– प्रश्नपत्र आउट भएको विषयमा नेपाल प्रहरीको अनुसन्धान सकिएपछि मात्र नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाका विषयमा आवश्यक निर्णय लिने भएको छ।
गत शनिबार लिइएको लाइसेन्स परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएपछि सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट गर्ने तीन जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो।
काउन्सिलका रजिष्ट्रार शुक्ला खनालका अनुसार परीक्षा हलमा रहेका तीन जनाले मोबाइल मार्फत ग्रुपमा प्रश्नपत्र आउट गरेको फेला परेपछि प्रहरीलाई उनीहरुको मोबाइलसहित जिम्मा लगाइएको थियो। उनीहरुले ग्रुपमा पठाएको म्यासेज तत्काल ४०० जनाले हेरेको देखिएको थियो।
परीक्षा हलमा रहेका पिसिएल तर्फका विद्यार्थीले प्रश्नपत्र आउट गरेको प्रत्यक्ष भेटिएपनि स्नातक तहको बिएनएस र बिएस्सी नर्सिङको पनि प्रश्नपत्र आउट भएको हुनसक्ने आशंका गरिएको खनालको भनाइ छ।
प्रश्नपत्र आउट भएको विषयमा अनुसन्धान पुरा नभएसम्म कुनै पनि विषयको परीक्षाफल प्रकाशन नगर्न प्रहरीले आग्रह गरेपछि काउन्सिलले सबै परीक्षाफल स्थगित गरेको रजिष्ट्रार खनालले जानकारी दिइन्।
उनले भनिन्, ‘प्रश्नपत्र आउट गरिएको प्रत्यक्ष भेटिएको पिसिएल नर्सिङको हो, एकैदिन परीक्षा भएको हुनाले अरु विषयको पनि आउट भएको हो कि भन्ने आशंका भएकाले अनुसन्धानको रिपोर्ट नआएसम्म कुनै पनि विषयको नजिता प्रकाशित नगर्ने निर्णय भएको छ।’
प्रहरीले अनुसन्धान सकेर रिपोर्ट आएपछि मात्र नजिता प्रकाशित हुने उनले बताइन्। रजिष्ट्रार खनालका अनुसार पिसिएल तर्फ ६ हजार १० जना, स्नातक तह बिएनएस तर्फ १६ जना र बिएस्सी तर्फ १३८३ जनाले परीक्षा दिएका थिए।