काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान नै उनलाई अस्पताल लगिएको थियो।
सीता लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्याएर उपचार गरिएको थियो। तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दा समेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन।
त्यसका अतिरिक्त प्रचण्ड परिवारले केही धार्मिक गतिविधि पनि गरेको थियो। जीवनको लामो समय भौतिकवादी नेताको छवि बनाएका प्रचण्डले सीताकै स्वास्थ्य लाभको अपेक्षामा आफूलाई खुकुलो बनाए। त्यसका निम्ति आलोचना पनि खेपे। तर, त्यसले पनि सीतालाई सञ्चो भएन।
यद्यपि, कुनै उपचार वा धार्मिक गतिविधिका कारण सीतालाई निको नहुने प्रचण्डले स्वीकार गरिसकेकै विषय थियो। पछिल्लोपटक भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले महाकालेश्वर मन्दिरको दर्शनको बचाउ गर्दै सीताको स्वास्थ्य लाभको कामनाले आफू त्यहाँ नगएको, सीतालाई लागेको रोग निको हुने खालको नभएको बताएका थिए।
पछिल्ला केही वर्षयता विस्तारै रोगले गलाउँदै लगेकाले सीता निष्क्रिय हुँदै गएकी थिइन्। केही महिनायता भने उनी अचेत अवस्थामा रहेको जानकारहरुले बताउने गरेका थिए।
सीताको निधनसँगै प्रचण्डले एक दशकमै, आफ्नो परिवारभित्रै ३ वियोग खेपेका छन्। उनले २ सन्तान र श्रीमती समेत गुमाएका हुन्।
प्रचण्डले २०७० चैत १३ गते जेठी छोरी ज्ञानु दाहाललाई गुमाएका थिए। झन्डै ८ वर्षदेखि स्तन क्यान्सरबाट पीडित उनको काठमाडौंमा निधन भएको थियो।
ज्ञानुलाई उपचारका निम्ति भारत तथा अमेरिका पुर्याइएको थियो। तर पनि स्वास्थ्यमा सुधार भएन। त्यसपछि उनलाई काठमाडौं नै ल्याइएको थियो। र ओम अस्पतालमा उपचारका लागि राखिएको थियो। उनको ४० वर्षको उमेरमा अस्पतालमै निधन भएको थियो।
प्रचण्डले एक मात्र छोरा प्रकाश दाहाललाई पनि २०७४ मंसिर ३ मा गुमाएका थिए। निधन हुँदा प्रकाश ३६ वर्षका थिए।
चुनावी माहोलले छोपेका बेलामा प्रचण्ड समेत चुनावी प्रचारका लागि झापामा थिए। प्रायः बाबुकै वरपर रहने र उनको सहयोगीको भूमिकामा रहने प्रकाश त्यस समय भने काठमाडौंस्थित निवास लाजिम्पाटमै थिए। तर मंसिर ३ गते बिहान सबेरै स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनलाई तत्कालै नर्भिक अस्पताल पुर्याइएको थियो। उनको हृदयाघातका कारण मृत्यु भएको थियो।
प्रकाशको निधनपछि नै उनकी आमा अर्थात् प्रचण्डकी श्रीमती सीतामा स्वास्थ्य समस्या देखिन थालेको थियो। अन्ततः उनको पनि बुधबार निधन भएको छ।