काठमाडौं- सरकारले अंग प्रत्यारोपण समितिको अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समितिको अध्यक्षमा डा पुकारचन्द्र श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको हो।
मन्त्रिपरिषदले अध्यक्षमा श्रेष्ठ र सदस्यहरुमा डा महेश सिग्देल, डा प्रवीणविक्रम थापा र डा महेश अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
'स्वास्थ्य मन्त्रालयको सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको हो। अंग प्रत्यारोपणसँग सम्बन्धित धेरै काम लामो समयदेखि अड्केको रहेछ। समितिमा अध्यक्ष र सदस्य नियुक्ति भएपछि ती काम अगाडि बढ्छ होला। विस्तृतमा स्वास्थ्य मन्त्रीसँग कुराकानी गर्नुहोला' ती मन्त्रीले भने।
अध्यक्ष डा श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुन्। डा सिग्देल त्रिवि शिक्षण अस्पताल, डा थापा काठमाडौं मेडिकल कलेज र डा अधिकारी मेडिसिटी अस्पतालमा कार्यरत छन्। उनीहरुको पदावधी दुई वर्षको हुन्छ।
समितिमा ८ महिनादेखि अध्यक्ष र सदस्यहरु रिक्त थिए। गत कात्तिक २४ गतेदेखि रिक्त थियो। तत्कालिन अध्यक्ष प्राडा दिव्या सिंह शाहसहित सदस्यहरुको पदावधि सकिएपछि नयाँ नियुक्त भएको थिएन।