काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत विवादमा मुछिएका छन्। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको सोही अभिव्यक्तिलाई लिएर राजीनामा समेत माग गरिएको छ।
स्वास्थ्यका कर्मचारीले सोमबारदेखि नै मन्त्रीको आलोचना गरेका थिए भने मंगलबार संस्थागत रुपमा र सांसदले नै मन्त्रीको अभिव्यक्तिको विरोध गरेका हुन्। सांसद तोसिमा कार्कीले मन्त्री बस्नेतको राजीनामा नै माग गरेकी छिन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले पनि मन्त्रीको अभिव्यक्तिको विरोध गर्दै नैतिकता प्रदर्शन गर्न भनेको छ।
मन्त्री बस्नेतले के अभिव्यक्ति दिएका थिए?
सोमबार मन्त्री बस्नेतले पत्रकार सम्मेलनमा 'कर्मचारीहरुले सरुवा गरे अत्हत्या नै गर्छु भनेर आएको समयमा आफूले आत्महत्या गर्ने भए डोरी दिन्छु' भनेर भनेको जानकारी दिएका थिए। मन्त्री बस्नेतको उक्त भनाईले समस्यामा परेका स्वास्थ्यकर्मीलाई आत्महत्या गर्न उक्साउने काम भएको भन्दै विरोध भएको हो।
मन्त्री बस्नेतले आत्हत्या दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यकै कर्मचारीले समेत विरोध गरेका छन्।
हेरौं मन्त्री बस्नेतले व्यक्त गरेको धारणा
स्वास्थ्यमा सरुवा गराउन कोही तागत लगाएर आउछन्। कोही आत्महत्या गर्छु भन्दैं आउँछन्। केही मान्छेको सरुवा गरे तर केही मान्छे यही हुनुपर्छ नभए आत्महत्या गर्छु भनेर आएछन्। सचिवज्यूहरु यही दायाँ बायाँ हुनुहुन्छ। एउटा आएर म यही आत्महत्या गर्छु भनेछ। सचिवज्यूहरु त्यस्तो घटना घटिहाल्लाकी, भटाभट आत्महत्या गरिरहेका छन्, डराउनुभएछ अनि म कहाँ आउनुभयो। झन उहाँ (सचिव देवकुमारी गुरागाईं)को त कमलो मन। लौन केही गर्नुपर्यो आत्महत्या गर्छु भन्छ भन्नुभयो। मैले त कुरा बुझेको छु। उसो भए डोरी लगेर दिनुहोस्, सचिवज्यूकोमा झुण्डिन मन लागेन भने मन्त्रीको गेटमा गएर झुण्डिन भन्दिनुस भन्दिएँ। त्यसो भनेपछि उहाँ जुरुक्क उठेर हिड्नुभयो। यहाँ दंग्याउने, घुर्काउने धेरै हुन्छन्।
मन्त्रीको पदीय गरिमाको अवमूल्यन, नैतिकता प्रदर्शन गर्न आह्वान
नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले मन्त्री बस्नेतको उक्त अभियव्यक्तिले मन्त्री पदको गरिमाको अवमूल्यन गरेको भन्दै नैतिकता प्रदर्शन गर्न आह्वान गरेको छ।
'स्वास्थ्यकर्मी प्रति इंगित गर्दै मिति सोमबारका दिन सार्वजनिक रुपमै "डोरी दिएर झुन्डिन पठाउनु' भन्ने गैह्रकानुनी, गैह्रजिम्मेवारपूर्ण र आपत्तिजनक अभिव्यक्ति प्रति यस महासंघ घोर भत्सर्ना गर्दै खेद प्रकट गर्दछ,' महासंघका अध्यक्ष डा झलक गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएकोले नैतिकता प्रदर्शन गर्न आव्हान गर्दछ।'
नैतिकताका आधारमा राजीनामा दिनुहोस् : सांसद कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्यमन्त्रीको अभियव्यक्ति आपत्तिजनक रहेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेकी छिन्।
सांसद डा कार्कीले सामाजिक सञ्जालमा मन्त्री बस्नेतको अभिव्यक्तिको आलोचना गर्दै मन्त्री बस्नेतले तुच्छ, निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख गरेकी छिन्। ‘न्यून पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय सँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्याहाँ काम गर्न गार्हो भइसक्यो आत्महत्या गरुँ जस्तो भइसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छू यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ?’ सांसद कार्कीले लेखेकी छिन्।
हेरौं सांसद डा कार्कीको धारणा
समाजको वृहत्तर हितको लागी आज मैले पनि प्रष्ट कुरा गर्नैपर्छ,
स्वास्थ्य मन्त्री जस्तो स्वास्थय क्षेत्रको अभीभावक हुनुपर्नेमा,
न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय सँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र
उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्याहाँ काम गर्न गार्हो भईसक्यो आत्महत्या गरुँ जस्तो भईसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी…. ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छू यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ ?
हाल दक्षिण एसियामै सबै भन्दा बढी आत्महत्या मृत्युदर नेपालको छ्र दैनिक रुपमा १७-१९ युवा युवतिले आत्महत्या गरिरहेका छन्, पछिल्लो समय देशमा पेशागत नैरास्यताका कारण डाक्टर नर्स स्वास्थयकर्मीहरु विदेशीने मात्र हैन उनीहरुमा आत्महत्या गर्ने क्रम पनि बढ्दो छ । यस्तो अवस्थामा स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दुख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाई स्वय्म् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ । त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ ।