काठमाडौं- चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघको अगुवाईमा स्वास्थ्य पत्रकारितासम्बन्धि प्रशिक्षण पाठ्यक्रम तयार भएको छ। संघको अगुवाईमा तयार भएको उक्त पाठ्यक्रम स्वास्थ्य पत्रकारहरु, नेपाल प्रेस काउन्सिल, पत्रकार महासंघ, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, विश्व स्वास्थ्य संगठन र सरोकारवालाहरुको सहभागितामा तयार पारिएको हो।
स्वास्थ्य पत्रकारहरुसहितका विज्ञहरुको सल्लाह र सुझाबका आधारमा तयार पारिएको उक्त पाठ्यक्रम अनुसार सञ्चारकर्मी एवं स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ। स्वास्थ्य पत्रकारिताका विषयमा रुचि राख्नेहरुका लागि उक्त पाठ्यक्रमले धेरै कुरा सिकाउने विश्वास लिइएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाठ्यक्रमलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सहित सरोकारवालाहरुको उपस्थितिमा अनुमोदन गरिएको छ। अनुमोदन कार्यक्रममा नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ, नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, विश्व स्वास्थ्य संगठन, अफिन, स्वास्थ्य पत्रकार लगायत सरोकारवालहरुका प्रतिनिधीहरुको सहभागिता थियो।
कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले पाठ्यक्रमको विकासले विषयवस्तुका विषयमा जानकारी दिनुका साथै सही समाचार सम्प्रेषणमा योगदान पुग्ने बताए। 'कसैले पनि सबै कुरा बुझेको हुँदैन, सिक्दै जानिने हो', उनले भने, 'मेडिकल सम्बन्धी ज्ञान लिएर समाचार सम्प्रेषण गर्दा बढी विश्वासिलो र मर्यादित हुन्छ। यस्ता पाठ्यक्रमले सञ्चारकर्मीहरुलाई थप सहयोग र मद्दत गर्छ।'
स्वास्थ्य सचिव डा रोशन पोखरलले स्वास्थ्य क्षेत्र निकै संवेदनशिल हुनुका साथै धेरैभन्दा धेरै मेडिकल क्षेत्रका प्राविधिक शब्दहरु हुने भएकाले पाठ्यक्रमले ती विषयमा बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले संघको अगुवाईमा विज्ञहरुले तयार पारेको पाठ्यक्रमले स्वास्थ्य क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीबीच सहज संवाद हुने र विषयवस्तुका विषयमा थप गहन छलफल हुने बताए।
'मेडिकल क्षेत्रका धेरै प्राविधिक शब्दावलीमा समस्या हुन सक्छ। त्यसक्रममा कतिपय शब्द नबुझ्दा समाचार लेखनका क्रममा अर्कै अर्थ लाग्ने गरी गलत समाचार पनि आइरहेको देखिन्छ। यस्तो समसयालाई चिर्ना पाठ्यक्रमले मद्द गर्छ भन्ने विश्वास लिएको छु,' डा पोखरेलले भने।
चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सा विज्ञान र स्वास्थ्य सेवाका क्षेत्रमा आवश्यक प्राविधिक तथा विषयगत जानकारीलाई पाठकसमक्ष पुर्या्उन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए। उनले यो पाठ्यक्रमले सञ्चारकर्मीसहित स्वास्थ्यकर्मीलाई पनि स्वास्थ्य क्षेत्रका विषयमा धेरै कुरा बुझाउन सक्ने बताए।
'चिकित्सा विज्ञान र स्वास्थ्य सेवाका क्षेत्रमा आवश्यक प्राविधिक तथा विषयगत जानकारीलाई बुझाउन यो पुस्तक उपयोगी हुने छ,' उनले भने, चिकित्सा शिक्षा, स्वास्थ्य सेवा प्राविधिक र संवेदनशील क्षेत्र भएकोले यस क्षेत्रसँग सम्बन्धित विषय समेटेर पाठ्यक्रम तयारी गरी प्रशिक्षण दिन लागिएको हो।' उनले स्वास्थ्य क्षेत्रमा सक्रिय पत्रकारहरु, प्रेस काउन्सिल र पत्रकार महासंघका प्रतिनिधिसहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुसँगको समन्वय र छलफलपछि पाठ्यक्रम तयार पारिएको जानकारी दिए।
कार्यक्रमका संयोजक तथा नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यको समाचार लेख्दा सही सूचना सही व्यक्तिबाट लिन नसक्दा पनि समाचारले गलत सन्देश दिने गरेको बताए। यसलाई रोक्ने उद्देश्यले पाठ्यक्रम बनाइएको जानकारी दिँदै पाठ्यक्रमले स्वास्थ्यकर्मी तथा स्वास्थ्य पत्रकार दुबैलाई फाइदा पुग्ने विश्वास गरे।
'उपचारको क्रममा हुने कमजोरीलाई छानबिन नै नभई सिधै चिकित्सकको लापरबाही भनेर समाचार लेख्दा चिकित्सकले अपराध गरेको अर्थ लाग्ने गरेको छ,' उनले भने, 'चिकित्सकिय अभ्यासका क्रममा कहिलेकाँही कुनै घटना तथा त्रुटि हुन सक्छ। तर त्यस्ता घटनामा सिधै चिकित्सकको लापरबाही भनेर लेख्दा चिकित्सकले जानी जानी अपराध गरेको जस्तो देखिन्छ। त्रुटि र लापरबाही भनेको धेरै फरक कुरा हो। तर छानबिनका क्रममा पुष्टि नै नभई लापरबाही भनेर लेख्ने गरिन्छ। यी र चिकित्सा विज्ञानका विषय तथा उपचार प्रक्रियाका विषयमा बुझाउन पाठ्यक्रमले सहयोग गर्ने छ।'
उनले चिकित्सक संघले नै किन यो पाठ्यक्रमको अगुवाई लियो भन्ने विषयमा प्रष्ट पार्दै भने, 'हामीले एक दशकदेखि स्वास्थ्य पत्रकारहरुसँग स्वास्थ्य पत्रकारका लागि पाठ्यक्रमहरु हुनुपर्छ भनेर छलफल चलाइरह्यौं। तर यो बीचमा कसैले पनि यसको अगुवाई लिनु भएन। त्यसपछि स्वास्थ्य पत्रकार, प्रेस काउन्सिल र पत्रकार महासंघसँगका प्रतिनिधसँग छलफल गरेर पाठ्यक्रम बनाउने काममा अगुवाई लिएका हौं।' उनले संघले आवश्यक सहजीकरण गर्दै विज्ञहरुले पाठ्यक्रम तयार पारेको जानकारी दिए।
पाठ्यक्रमलाई पूणर्ता दिन जर्नल अफ नेपाल मेडिकल एसोसियसनका प्रमुख सम्पादक डा एन्जल मगरको संयोजकत्वमा टेक्निकल वर्किङ कमिटिको गठन गरिएको थियो। डा मगरले मेडिकल जर्नालिज्ममा देखिएको कमजोरीलाई कम गर्न तालिम प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको बताए।
पाठ्यक्रम अनुमोदन कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनिधहरुको पनि सहभागिता थियो। सो क्रममा संगठनका डा विनोद बुराले जनतासमक्ष सत्य, तथ्य सूचना सम्प्रेषण गर्नका लागि पाठ्यक्रमले मद्दत गर्ने जानकारी दिए।
उनले कोभिडका समयमा धेरै भ्रम फैलिएको स्मरण गराउँदै स्वास्थ्यका समाचार सम्प्रेशण गर्दा धेरै नै संवेदनशिल हुनुपर्ने बताए।
विश्व स्वास्थ्य संगठनकै डा बिनोद गुप्ताले पाठ्यक्रमले ज्ञानको दायरालाई थप फराकिलो बनाउने विश्वास व्यक्त गरे।
चिकित्सक संघका महासचिव डा सञ्जिब तिवारीले पाठ्यक्रम अनुसारको तालिमले स्वास्थ्य पत्रकारिताका क्षेत्रमा थप निखारता आउने विश्वास व्यक्त गरे।