रसुवा-उत्तरी रसुवामा डेंगुका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमितकुमार शाहले १ जना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए।समुद्री सतहदेखि २ हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ। मेडिकल सुपरिन्टेन्डेन्ट डा. शाहले डेंगु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनुपर्ने बताए। उनले घरआँगन छेउका गोरेटो घोडेटो लगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गरे।
जिल्ला अस्पताल धुञ्चेले आइतवारदेखि थप व्यवस्थित गर्दै ‘ओपीडी सेवा’ सञ्चालनमा ल्याएको छ। अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपीडी सेवा सञ्चालनमा ल्याएको हो। ओपीडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरेका छन्।
अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौं रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ। यसबाट विशेषगरी प्रसूति सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताए।