मकवानपुर- काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन्। शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्यक्त गरिन्। शनिबार सम्पन्न भएको शिविरमा २ हजार १ सय २० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि शिविरमा आएका थिए। शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको छ। त्यस्तै, दाँतमा समस्या भएका ५१ जनाको दाँत फुकालिएको छ। शिविरमा उपचार सम्भव नभएका तथा गम्भीर समस्या देखिएका १०५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले बताए।
शिविरका लागि केएमसीबाट विशेषज्ञ डाक्टरहरुसहित ३५ जनाको टोली आएको थियो। स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा फड्को मार्दै गएको केएमसीले देशका बिभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएको छ। गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन्।