काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि सुरु हुने भएको छ। न्याम्सर कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको हो।
कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ।
साउन १ गतेदेखि भने बिहान ८ देखि साँझ ४ बजेसम्म कार्यालय समय र त्यसपछि विगतमा जस्तै अन्य सेवा भने निरन्तर रहने छन्।
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
'बिहानको सवारी जामको समस्याबाट छुटकारा पाउन र ओपिडीका लागि अस्पतालमा ७ बजेदेखि नै बिरामी लाइनमा बसिरहने भएकाले ८ बजेबाट नै सेवा सुरु गर्न लागेका हौं,' उनले भने, 'बिरामीहरुको सुबिधाका लागि नै हामीले यो निर्णय गरेका हौं। साउन १ गतेदेखि वीरमा ८ बजेबाट कार्यालय समय सुरु हुने छ।'
अस्पतालमा दैनिक २ हजार पाँच सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्।