ललितपुर- नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका सम्पूर्ण ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरु बीच ‘ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन्।
महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नगरभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूको घरघरमै गएर विभिन्न समस्याहरूको परीक्षण गर्नेछ।
संघका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्ने बताउँछन्। उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारीरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरूलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएको नेत्रज्योति संघलाई धन्यबाद दिँदै यो सहकार्य दीर्घकालसम्म चलिरहने समेत बताए।
नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरूलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।