काठमाडौं- लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको छ। लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ।
बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ। यति धेरै नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलो पटक हो। नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिदै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानविय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए।
सेवाका हिसाबले नर्सिङ जनशक्ति दोश्रो भगवान नै भएको बताउँदै गरिव र विपन्न बिरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए। नर्सिङ जनशक्तिलाई भविश्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाईं लगायत अतिरिक्त सचिवहरु र मन्त्रालयका अधिकारीको उपस्थिति रहेको थियो।