काठमाडौं- सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कामु उपकुलपतिमा डा प्रल्हाद कार्कीलाई नियुक्त गरेको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
'सहकुलपतिको अधिकार प्रयोग गर्दै मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा प्रल्हाद कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिनुभएको छ,' मन्त्री बस्नेतको सचिवालयका एक कर्मचारीले भने, 'आज आइतबार डा कार्कीको नाममा निर्णय भइसकेको छ। उहाँले पत्र भने बुझिसक्नु भएको छैन।'
डा कार्की प्रतिष्ठानमै कार्यरत वरिष्ठ चिकित्सक हुन्। डा कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ।
हालसम्म प्रतिष्ठानका शिक्षाध्यक्ष डा सञ्जिब शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो।