काठमाडौं- नेपालमा १५ वर्षभन्दा माथिको उमेर समूहका २३ प्रतिशत पुरुष र १८ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या रहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले उक्त तथ्यांक देखाएको हो।
अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग (यूएसएआइडी )बाट आर्थिक सहयोगमा यो सर्वेक्षण हरेक पाँच वर्षको फरमा हुँदै आइरहेको छ। सन् २०२२ को सर्वेक्षणको प्रतिवेदन हालै सार्वजनिक भएको हो। सर्वेक्षणमा राष्ट्रको पुरै प्रतिनिधित्व हुने गरी १३ हजार ७८६ छनौट भएको घरपरिवारबाट १५ देखि ४९ बर्षका १४ हजार ८४५ जना महिला र सर्वेक्षण भएका घरपरिवारमध्ये आधा घरपरिवारबाट १५–४९ वर्षका ४ हजार ९१३ जना पुरुष अन्तर्वार्तामा सहभागि थिए।
'सर्वेक्षणमा छनौटमा परेका जम्मा घरपरिवारहरूको एक चौथाई घरपरिवारहरूको १५ बर्ष र सो भन्दा माथि उमेरका महिला र पुरुषहरूको सहमतिमा रक्तचाप मापन गरेको थियो। तीन पटक रक्तचाप मापन गरिएको थियो, दोस्रो र तेस्रो मापनको औसत अन्तर्राष्ट्रियरूपमा सिफारिस गरिएको मापदण्ड अनुसार उच्च रक्तचापको परिणामहरू वर्गीकरण गर्न प्रयोग गरिएको थियो,' प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदन अनुसार शहरी क्षेत्रका १८ प्रतिशत महिलाहरुमा र ग्रामीण क्षेत्रका १७ प्रतिशत महिलाहरुमा उच्च रक्तचाप भएको पाइयो । तर पुरुषहरुमा यो भिन्नता अधिक छ। शहरी क्षेत्रका २५ प्रतिशत पुरुषमा उच्च रक्तचाप रहेको छ भने ग्रामीण क्षेत्रका १८ प्रतिशत पुरुषमा उच्च रक्तचाप छ।
कोशी प्रदेशमा उच्च रक्तचाप सबैभन्दा बढी - महिलामा २५ प्रतिशत र पुरुषमा २७ प्रतिशत पाइयो र सबैभन्दा कम कर्णाली प्रदेशमा (क्रमशः १२ प्रतिशत महिलामा र १८ प्रतिशत पुरुषमा ) पाइयो।
उच्च रक्तचाप उमेरसंगै बढ्दै गएको छ। ७० वर्ष र सो भन्दा माथिका महिलाहरूमा (५२ प्रतिशत) र ६५ वर्ष र सो भन्दा माथिका पुरुषहरुमा (४५ प्रतिशत)- सबैभन्दा बढी उच्च रक्तचाप रहेको छ। उच्च रक्तचाप ५५-५९ वर्षको उमेर सम्म महिलाहरुको तुलनामा पुरुषहरुमा बढि रहेको र त्यसपछि उच्च रक्तचाप महिलाहरुमा पुरुषहरु भन्दा सामान्यतया बढी रहेको पाइयो।
'उच्च रक्तचाप भएका मध्ये, १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषहरूले उच्च रक्तचाप नियन्त्रण गरेका छन्, अर्थात सिस्टोलिक १४० भन्दा कम र डायस्टोलिक ९० एमएमएचजी भन्दा कम छ र उच्च रक्तचापको औषधि खाँदैछन्,' प्रतिवेदनमा उल्लेख छ।
पाँच वर्षअघि गरिएको यस्तै सर्वेक्षणमा नेपालमा महिलामा १७ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचाप पाइएको थियो। पाँच वर्षपछि हालै सार्वजनिक भएको सन् २०२२ को प्रतिवेदनमा महिलामा १८ र पुरुषमा २३ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ। 'यो अनुपानुपात सन् २०१६ र २०२२ को बीचमा स्थिर रहेको छ,' प्रतिवेदनमा भनिएको छ।