काठमाडौं– नेपाल चिकित्सक संघले स्नातक तहका विद्यार्थीहरुको इन्टर्नसिप, अतिरिक्त शुल्क उठाइएको, आवासीय चिकित्सकहरुको सुविधा लगायतका विषयमा चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्की, उपाध्यक्ष डा निरज सिंह र महासचिव सञ्जिव तिवारीले शुक्रबार आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई भेटेर तीन वटा विषयका मुद्धामा आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरी इन्टर्नसिप गर्ने विद्यार्थीहरुले संघलाई पत्राचार नै गरेर इन्टर्नसिप गरिरहेको विद्यार्थीहरुको आयोगले तोकेको भन्दा बढी शुल्क लिएको तथा तलब सुविधा समेत वैज्ञानिक नभएको गुनासो गरेको संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
आयोगले तोकेको भन्दा बढी शुल्क लिन नपाउने तथा इन्टर्नसिप गरिरहेका विद्यार्थीहरुलाई मेडिकल अफिसरले प्राप्त गर्ने न्यूनतम तलब सुविधाको कम्तिमा पनि ५० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने र सबै मेडिकल कलेजहरुमा एकरुपता ल्याउने वातावरण सुनिश्चित गर्न भन्दै संघले आयोगलाई ध्यानाकर्षण गराएको हो।
यस्तै, एमबिबिएस अध्ययन पुरा गरी इन्टर्नसीप गर्ने विद्यार्थीहरुले लुम्बिनी मेडिकल कलेजबाट इन्र्टसिपका लागि आयोगको ऐन तथा नियमावली विपरित अतिरिक्त शुल्क लिएको गुनासो आएकाले संघले जनाएको छ। आयोगले तोकेको शुल्क विद्यार्थीबाट लिएपश्चात् शैषिक गतिविधिको नाममा कुनै पनि शिर्षकमा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था भएकाले लुम्बिनी मेडिकल कलेजबाट इन्टर्नसिप तथा अन्य शैक्षिक गतिविधिका नाममा लिइएको अतिरित्त, शुल्क अबिलम्ब विद्यार्थीहरुलाई फिर्ता गराउन पनि संघले ध्यानाकर्षण गराएको छ।
संघले देशभरका सरकारी तथा निजी मेडिकल कलेजहरुलाई आवासीय चिकित्सकहरुको सेवा तालिकालाई वैज्ञानिक विधि मार्फत न्यायोचित हुने गरी निर्धारण गराउने तथा पर्व, सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा, किरिया बिदा, बिरामी बिदालाई संविधानमा भएको व्यवस्था अनुसार सुनिश्चित गरिदिन र पेड फोर्स लिभलाई समेत लागू गर्ने वातावरण मिलाइदिन आयोगलाई आग्रह गरेको छ।
यस्तै एमडी, एमएस तथा एमडिएस का आवासीय चिकित्सकलाई सरकारको आठौं तहको मेडिकल अफिसर सरहको तलब सुविधा तथा डिएम र एमसिएच का आवासीय चिकित्सकलाई सरकारको नवौं तह सरहको तलब सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन भए/नभएको बारे अनुगमन गर्न पनी संघले आयोगलाई आग्रह गरेको छ।