काठमाडौं- गैडहवा गाउँपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई पारामेडिक्स र तीन जना नर्सलाई तलब खुवाउन नसकिने भन्दै मन्त्रालयमा नै फिर्ता पठाउने पत्र पठाएको छ।
गाउँपालिकाले बिहीबार मन्त्रालयमा पत्र पठाउँदै गाँउपालिका माताहतका स्वास्थ्य संस्थामा रहेका २ जना पारामेडिक्स र ३ जना नर्सलाई तलब खुवाउन नसक्ने भन्दै मन्त्रालयमा नै फिर्ता पठाउने जानकारी दिएको हो।
गाउँपालिकाले समायोजन पश्चात दरबन्दी रिक्त नभएको अवस्थामा मन्त्रालयबाट पुन: समायोजन मिलान तथा कामकाज गर्ने गरी फाजिल दरबन्दीमा सरुवा भएका पारामेडिक्स २ जना र नर्सिङ कर्मचारी ३ जना गरी पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी मिलान नभएको र उनीहरुको तलब भत्ता पटक पटक माग गर्दा पनि प्राप्त हुन नसकेको भन्दै साउन १ गतेदेखि मन्त्रालयमा नै फिर्ता पठाउन बाध्य हुने पत्र काटेको हो।
'पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी मिलान पनि नभएको साथै आर्थिक वर्ष २०७९/८० मा निजहरुको तलब भत्ता पटक पटक माग गर्दा पनि प्राप्त हुन नसकेको साथै तहाँ मन्त्रालयको असार ४ गतेको पत्र अनुसार यहाँ गाउँपालिकाबाट तलब भत्ताको व्यवस्थापन गर्न नसक्ने भएकाले निजहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तलब निकास नभएमा तहाँ मन्त्रालयमा हाजिर हुने गरी साउन १ गतेदेखि फिर्ता गर्न बाध्य हुने व्यहोरा अनुरोध छ,' पत्रमा भनिएको छ।
हेरौं पत्र