बुटवल– बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।
उक्त रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ। रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ।
रोटरी क्लब अफ बुटवलले रक्त संकलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रससमेतको साझेदारी रहेको छ। क्लबले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लबको परियोजना पछाडि धकेलिएको हो।
रोटरी क्लब अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रूपमा रहेको यो एम्बुलेन्स रु ७० लाखको लागतमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए। यो एम्बुलेन्समा बसेर एकै पटकमा पाँच जनाले रक्तदान गर्न सक्छन्।
यसलाई सही ढङ्गले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्ने उनले बताए।
रगत सङ्कलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पु¥याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताए।
रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र नभई रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्थासमेत एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत सङ्कलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ।
रगत सङ्कलन एम्बुलेन्स ल्याइएपछि प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुनेछ । रक्त संकलन एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लबले गरेको यो कार्य निकै सराहनीय रहेको बताए।
उनले बुटवलबासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए। उनले लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको सहज उपचार कसरी गर्न सकिन्छ भन्ने कुरालाई महत्त्व दिएको भन्दै सरकारले बजेट उपलब्ध नगराउँदा र अस्पतालको आफ्नै आम्दानीको स्रोत खुम्चिँदा भने सेवा सञ्चालनमा कठिनाइ आइरहेको जानकारी दिए।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जनताको स्वास्थ्य अवस्था सहज बनाउन सरकारी अस्पतालको सेवालाई यस्ता कामले सहज हुने बताए।