काठमाडौं- स्वास्थ्य क्षेत्रमा अनुगमन तथा अनुशिक्षणका नाममा स्रोतको दुरुपयोग हुने गरेको गुनासो आइरहेको समयमा एक स्थानीय तहमा नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रमको अनुशिक्षणमा लेखापालदेखि इन्जिनियरसम्म खटाइएको तथ्य फेला परेको छ।
विषयवस्तुका विषयमा जानकार व्यक्तिभन्दा पनि बजेट सक्न र भत्ता लिनका लागि असम्बन्धित व्यक्तिलाई अनुगमनका लागि पठाइएको फेला परेको हो। सिरहाको सुखीपुर नगरपालिकाले नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा सञ्चालित 'समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम'को अनुगमनका लागि लेखापाल, खरिदार, सब इन्जिनियरहरुलाई खटाएको हो।
पाँच वर्ष मुनिका बालबालिकाहरुमा प्रायजसो देखिने रोग तथा अन्य स्वास्थ्य समस्याहरुको उपचार तथा व्यवस्थापन गरी त्यसबाट हुने मृत्यु दर घटाउनु कार्यक्रममा लेखापाल, खरिदार र सब इन्जिनियरहरुले अनुशिक्षणका क्रममा के कसरी सिकाउने र तालिम दिने होलान् भन्दै यसको विरोध हुन थालेको छ।
सामाजिक सञ्जालमा नगरपालिकको उक्त कदमको चर्को विरोध भइरहेको छ। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले सामाजिक सञ्जाल फेसबुकमा उक्त कदमको विरोध गर्दै दुरुपयोग भएको उल्लेख गरेका छन्।
'यो चाहिँ अत्ति भयो। सिबिआईएमएनसिआई कार्यक्रमको स्थलगत अनुशिक्षणमा ना.सु., खरिदार, लेखापाल, शिक्षक र ईन्जिनियरलाई परिचालन गरेर हुन्छ? धन्न कार्यालय सहयोगीहरुलाई पठाएनछन्! स्वास्थ्य क्षेत्रमा करिब १४ वर्षको अनुभव र जनस्वास्थ्यमा स्नातकोत्तर डिग्री भएको म त यो विषयमा अनसाइट कोचिङ गर्न सक्दैन। यसको लागि सम्बन्धित विषयको तालिम लिनुपर्छ। अनुगमन र स्थलगत प्रशिक्षण आफैमा प्राविधिक विषयवस्तु हो। धेरैले यसको दुरुपयोग गरेको देखिन्छ,' उनले लेखेका छन्।
स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका डाक्टर गुणराज अवस्थीले उक्त विषयमा टिप्पणी गर्दै जनस्वास्थ्यका अभियान र कार्यक्रमहरु कोल्याप्स हुँदै गइरहेको उल्लेख गरेका छन्।
'देशको सरकारी स्वास्थ्य सेवा छिट्टै (खासगरी जनस्वास्थ्यका अभियान र कार्यक्रमहरु) कोल्याप्स हुँदैछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य प्रणालीलाई तीन तहमा विभाजन गर्नेहरुलाई धन्यवाद दिनै पर्ला जस्तो लाग्छ,' डा अवस्थीले व्यंग्यात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा भुवन भट्टले 'आर्थिक वर्षको अन्तिममा भ्रमण भत्ता खाने होडबाजीले होला नि' भन्ने टिप्पणी गरेका छन्।
हेरौं अनुशिक्षणमा जानेको सूची