मान्म– कालिकोटका ५ स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष ८ महिला र १२ पुरुष गरी २० जना कालाजारका बिरामी फेला परेका छन्। यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा ४३ तथा आव २०७८/७९ मा २८ जना कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए।
जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा सङ्केत विश्वकर्माले बताए। ‘पहिला तराईमा मात्र देखिने कालजार र औलो रोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ,’ उनले भने, ‘तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो।’ रासस