छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो। त्यस कारण छालामा धेरै किसिमका रोग लाग्ने सम्भावना उच्च हुन्छ। छालामा नङ, कपाल र सौन्दर्य पनि पर्छ। नेपालगञ्जमा कार्यरत भएकोले मेरो अनुभवमा प्रायः यस क्षेत्रमा डन्डिफोर, चाया–पोतो चाउरीपना, घामले डढेको, दादको समस्या, सोराइसिस, छालामा आउने एलर्जीसम्बन्धी बिरामीको चाप बढी छ। सौन्दर्यसम्बन्धी समस्यामध्ये चाया–पोतोको समस्या लिएर बढी बिरामीहरू आउने गर्छन्। त्यसपछि डन्डिफोरका बिरामी बढी आउँछन्। त्यसपछि चाउरीपना र घामले डढेका बिरामीहरू आउँछन्।
नेपालको सन्दर्भमा सौन्दर्यको विषयमा पुरुषको तुलनामा महिलाहरू अलिक बढी चासो देखाउने भएकाले छालाका समस्या लिएर अस्पताल आइपुग्नेहरू प्रायः महिला नै छन्। यो क्षेत्रमा पहिलेको तुलनामा अहिले महिलाले बढी छालाको ख्याल राख्न थालेको जस्तो लाग्छ। प्रायः २० देखि ४० वर्ष उमेर समूहका बिरामीको चाप बढी हुने गरेको छ। आजकल आफूखुसी क्रिम लगाएर अस्पताल आइपुग्ने बिरामीको संख्या पनि बढ्दो क्रममा छ। यहाँ केही वर्ष अघिसम्म पनि छालासम्बन्धी चिकित्सक नभएको र सौन्दर्य प्राक्टिस गर्ने छालाका चिकित्सक नभएको हुनाले प्रायः मान्छेले पार्लरमा गएर, पसलबाट या बजारमा पाइने क्रिमहरू जथाभावी प्रयोग गरेको भेटिन्छ।
बजारमा पाइने स्टोराइड मिसिएको क्रिम लगाउँदा छाला पातलो हुने, रगतको नसाहरू देखिने, पछि गएर अनुहार झन् कालो हुने, अनुहारमा रौँ पलाउने, घाममा जाँदा रातै हुने, पोल्ने, चिलाउने जस्ता समस्याहरू निम्तिन सक्छन्। पहिलेपहिले यस्ता समस्या लिएर धेरै बिरामी आइपुग्थे। तर आजकल छालाकै चिकित्सकहरूले पनि सोसल मिडियामार्फत सन्देशमुलक भिडियोहरू बनाइरहेका हुन्छन्। अन्य माध्यमबाट पनि केही जानकारी भएकाहरूले चिकित्सकको सल्लाहबिना केही सामग्री प्रयोग गर्दैनन्। तर त्यस्ता ज्ञान नभएका र साथीले मैले यस्तो लगाएँ मलाई राम्रो गर्यो भनेको भरमा चिकित्सकको सल्लाहबिना क्रिम लगाउँदा
छालाको लागि घातक हुन सक्छ। त्यस्ता गलत किसिमका औषधिहरू प्रयोग भएका क्रिमहरू बजारमा सहजै पनि पाइन्छ। त्यस्ता क्रिमहरू लामो समय लगाएर छाला बिगारेर आउने बिरामीहरू धेरै छन्।
छालासम्बन्धी समस्या छ भने नजिकको छालासम्बन्धी चिकित्सकलाई देखाउन जरुरी हुन्छ। चिकित्सकको सल्लाह, सुझावअनुसार मात्रै औषधि या क्रिम प्रयोग गर्नुपर्छ। धेरैजसो मान्छेहरू अनलाइनमा हेरेर यो लगायो राम्रो हुन्छ भनेर किन्ने गर्छन्। कतिले पसलबाट या पार्लरबाट किन्छन्। तर त्यही चिज एकैछिन समय दिएर चिकित्सकलाई देखाउने हो भने अन्य कुनै रोगको कारणले हो या के कारणलेसमस्या भएको हो पत्ता लाग्छ। जसका कारण छालालाई थप असर पर्ने सम्भावना कम हुन्छ।
तर आफूखुसी क्रिम प्रयोग गर्दा छाला ड्यामेज हुने सम्भावना हुन्छ। एक पटक बिग्रिसकेको छाला फेरि उस्तै हुन्छ भन्ने पनि हुँदैन। पछि गएर छाला बिग्रियो भनेर पछुताउनुभन्दा डाक्टरको सल्लाहले क्रिम र अन्य औषधिहरू प्रयोग गर्नुपर्छ। चिकित्सकको सल्लाहअनुसार आफूलाई कुन राम्रो हुन्छ, त्यहीअनुसार लामो समयसम्म लगाउने गरी क्रिम फिक्स गर्नुपर्छ।
हामीले जस्तोसुकै अवस्था पनि नियमित आधारभूत स्किन केयर चाहिँ गर्नुपर्छ। जसमा फेसवास, सनस्क्रिन र मोस्टराइजरको कुरा आउँछ। राति सुत्नुअघि नियमित फेसवासले मुख धुनुपर्छ र थोरै मोस्टराइजर लगाएर सुत्नुपर्छ। बिहान पनि फेसवास गरिसकेपछि मोस्टराइजर लगाउनुपर्छ। त्यसपछि घामको किरणबाट बच्न कम्तीमा दिनमा तीन पटक सनस्क्रिन लगाउनुपर्छ। करिब ३÷३ घण्टाको ग्याप गरेर बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सनस्क्रिन लगाउन जरुरी हुन्छ।
(डा अर्जेल नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत छन्।)