काभ्रेपलान्चोक- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनु पर्ने बताएका छन्।
कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको बालबालिकामा हुने क्यान्सरसम्बन्धी दुई दिने कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताए। मन्त्री बस्नेतले भने, ‘नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामुहिक दायित्य हो। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्य पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। ’
कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले बताए। मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्दै भविश्यका चुनौती सामना गर्ने गरि योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए। मन्त्री बस्नेतले क्यान्सरको संक्रमण देखिएका बालबालिका ठूलो संख्यामा उपचारमा नआएको तथ्यांकले देखाएकाले उनीहरुलाई उपचार ल्याउनुपर्ने र निको हुने दर बढाउने गरि काम गर्न विज्ञहरुलाई सुझाव दिए।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सयदेखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाँकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनुपर्ने अहिलेको प्रमुख चुनौती भएको बताए।