काठमाडौं- दिगो विकास तथा सुशासन समितिले सुर्तिजन्य पदार्थमा लगाइने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति प्रकाश पन्तले सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्दा राज्यलाई नै फाइदा पुग्ने बताउँदै त्यस वापत संकलित रकम स्वास्थ्य उपचार र जनस्वास्थ्यका क्षेत्रमा खर्च गर्नुपर्ने बताए।
समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थबाट ६ अर्ब राजस्व संकलन भएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस वापत ४० करोड मात्रै पाएको बताएका थिए। उनले सूर्तिजन्य पदार्थबाट उठेको कर स्वास्थ्यकै क्षेत्रमा विनियोजन गर्नुपर्ने उल्लेख गरे।
त्यसैगरी समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखा परेका नीतिगत, व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा, औषधि आपूर्ति तथा उपचार प्रक्रिया सरल बनाई दक्ष जनशक्तिको व्यवस्था गरी सबै स्थानीय तहमा पहुँच विस्तार गर्न निर्देशन दिएको छ।
मानसिक स्वास्थ्य समस्या विकराल रुपमा फैलिएको भन्दै मनोसामाजिक परामर्शदाता, स्वास्थ्य विशेषज्ञ सेवा विस्तार गर्न, शिक्षाको पाठ्यक्रमबाट विभेदजन्य शब्दहरु हटाउन सरकारलाई निर्देशन दिएको छ।
समितिले दिगो विकास लक्ष्य प्राप्तिका लागि निर्धारण गरिएका सूचकहरुमा प्रगति हासिल गर्ने गरी नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधार गर्न समेत निर्देशन दिएको छ।