काठमाडौं- यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा मिङ्मार शेर्पालाई दिइने भएको छ। पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा शेर्पालाई दिने निर्णय गरेको हो। मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने जानकारी दिए।
डा सेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरीव, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय बिताएका छन्।
विशेषतःमातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम,दूर्गम जिल्लाहरूमा टेलिमेडिसिन सेवा,असहायहरूका लागि हाडजोर्नी र अपाङ्गता सम्बन्धी उपचारका साथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्रीहरू नियमित आपूर्ति गर्न महत्वपूर्ण नेतृत्व गरेको भन्दै दूधकुण्ड नगरपालिका–४, फाप्लु, सोलुखुम्बुका डा शेर्र्पालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनले जनाएको छ।