काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि २०२८ शय्याहरु गरिब,असहाय र अशक्तहरुका लागि निशुल्क उपलब्ध गराउने भएको छ।स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलन गदै उक्त कुरा जानकारी दिएका हुन्।
उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र गरिब वा असहायहरुले सहजरुपमा उपचार पाउन भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्री बस्नेतले बताए।
मन्त्री बस्नेतका अनुसार वीर अस्पतालमा ७००, कान्ति बाल अस्पतालमा २४८, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६०, प्रसूति गृह थापाथली ४५०, शहिद गंगालाल हृदय केन्द्र ९०, ट्रमा सेन्टरमा १५० र कोशी अस्पतालमा ३३० शय्या नि:शुल्क उपलव्ध हुने छ।
त्यस्तै मन्त्री बस्नेतले सुर्तिजन्य पदार्थमा लगाएको करवाट राज्यले ६ अर्ब राजश्व असुल गर्ने तर स्वास्थ्यमा लगानी कम गर्ने कुरा मान्य नहुने भन्दै सबै रकम वा अधिकांश हिस्सा मन्त्रालयले पाउनुपर्ने कुरामा जोड दिए। सरकारले उक्त शिर्षकवाट असुल भएको रकम मध्ये ४० करोड मात्र स्वास्थ्यले पाएको भन्दै यो रकम बढाउनुपर्ने बताए।
उनले देशभरका सरकारी अस्पतालहरुको आफूले निरिक्षण गरिरहेकोले सबै अस्पतालहरुको स्तरोन्नतीदेखि सबैको उपचारमा पहुँच योग्य बनाउने कुरा आफ्नो प्राथमिकता रहेको बताए।