विराटनगर– वीर अस्पतालमा ७ सय शय्या विपन्न बिरामीका लागि नि:शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शय्या नि:शुल्क उपचार गर्ने निर्णय गरेका छन्।
आकस्मिक निरीक्षणको क्रममा मंगलबार विराटनगर पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतको निर्देशन पछि कोशी अस्पतालले आईसीयू, एचडीयू र क्याबिन बाहेकका ३ सय ३० शय्या नि:शुल्क गरिएको हो। स्वास्थ्य मन्त्रालय मातहतका सरकारी अस्पतालहरुले जनताको संवैधानिक अधिकारलाई व्यवहारमा लागू गर्दै जाने क्रममा विपन्न, असहाय र बेवारिसे विरामीको उपचार नि:शुल्क गर्न आफूले निर्देशन दिएपछि कोशी अस्पतालले मंगलबारदेखि नै नि:शुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले जानकारी दिए।
मन्त्री बस्नेतले विपन्न बिरामीका लागि शय्यामात्र नि:शुल्क नभएर उपचार पनि नि:शुल्क हुने बताए। कोशी अस्पतालका प्रमुख डा रविनराज सिंहले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार ३ सय ३० शय्या नि:शुल्क गरेको जानकारी दिए।
मन्त्री बस्नेतले वीर अस्पतालबाट सुरु गरेको विपन्नका लागि शय्या नि:शुल्क गर्ने अभियान राजधानी बाहिरबाट पहिलो पटक कोशीबाट सुरु गरिएको र भविष्यमा देशका अन्य सरकारी अस्पतालमा पनि सुरु गर्न लागेको बताए। नि:शुल्क उपचार पाउनका लागि स्थानीय वडाबाट विपन्न, असहाय वा बेवारिसे भएको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको छ।
कोशी अस्पतालको टिकट काउन्टरमा भिड र अव्यवस्थित देखिएको पाइएपछि मन्त्री बस्नेतले उपचार सेवा सहज बनाउन अनलाईनबाट समेत टिकट काट्न पाउने व्यवस्था गर्न अस्पतालका निर्देशकलाई निर्देशन दिएका थिए। निरीक्षणमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल पनि सहभागी थिए।
त्यसैबीच मंगलबार नै मन्त्री बस्नेतले अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा झापाको आम्दा अस्पताललाई एक करोड २५ लाख पर्ने अक्सिजन हस्तान्तरणसमेत गरेका थिए। सो अवसरमा स्वास्थ्य मन्त्रालयका अधिकारीका साथै न्याम्सका उपकुलपति डा भूपेन्द्र बस्नेतको पनि उपस्थिति रहेको थियो।