काठमाडौं- केन्द्रिय कारागार अस्पतालमा सकारात्मक सोचसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीको सक्रियतामा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्टिय दिवस जुन २६ को सन्दर्भ पारेर कारागार कार्यालय जगन्नाथदेवलको भद्र सुधार गृहमा सकारात्मक सोच अभियान संचालन गरिएको छ।
कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले कैदीजीवन बिताइरहेका कैदीबन्दीहरुलाई आफूमा सकारात्मक सोच ल्याउन आग्रह गर्दे सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिएका थिए।
कैदीहरु निकै उत्साहपूर्वक कार्यक्रममा भाग लिएको तथा आफनो जेल जीवनपश्चात सकारात्मक सोच मार्फत समाज र देश निर्माणमा लाग्ने बताएको केन्द्रिय कारागार अस्पतालका निर्देशक डा बुढाथोकीले बताए। यस्तै कार्यक्रमहरु अन्य सुधारगृह तथा कारागार कार्यालयहरुमा नियमित र निरन्तर गर्ने सोच रहेको डा बुढाथोकीले बताए।
३ सय बढी कैदीबन्दी संलग्न उक्त कार्यक्रममा अस्पतालका प्रमुख डा बुढाथोकी, कारागार प्रशासक ललित बस्नेत,सुरक्षा प्रमुख डिएसपी कुमार थापा,लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ, नेपाल क्यान्सर रिलिफ सोसाईटीका सुरेश सापकोटा, डा सम्पदा श्रेष्ठ, सुधार गृहका चौकिदार,बैदार,नाईकेहरु लगायत आन्तरिक प्रशासनको समेत सहभागिता र संलग्नता रहेको थियो।