काठमाडौं–सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
मेयर मोहनमाया ढकालले आइतबार १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बुवा आमासँग सञ्चो विसञ्चो’ कार्यक्रम सार्वजनिक गरेकी छिन्।
उक्त कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई प्रत्येक वडामा सरकारी तथा निजी अस्पतालसँगको सहकार्यमा भेटघाट कार्यक्रम सञ्चालन गरी सुगर तथा प्रेसरको निःशुल्क चेकजाँच एवं स्वास्थ्य शिविर व्यवस्थापन लागि दक्ष जनशक्ति परिचालन गरिने जनाइएको छ।
मेयर ढकालले नागरिकको गुनासो तथा सेवा सम्वन्धी जिज्ञासा सुन्न र सम्बोधन गर्न हेल्लो मेयर कार्यक्रम सर्वजनिक गरेकी छिन्। ‘हेल्लो मेयर कार्यक्रम मार्फत टोल फ्री नम्बर सञ्चालन गरिने छ’, मेयर ढकालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भनिन्, ‘अनलाइन मार्फत गुनासो व्यवस्थापन गर्न सिटिजन गभरनेन्स रेस्पोन्स एप तयार गरिने छ।’