काठमाडौं- भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट ल्याएको छ। आइतबार नगरपालिकाको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका ६ वटा बुँदामा बजेटहरु परेको छ।
६ वटा बुँदामध्ये ४ वटा बुँदामा ख्वप्प अस्पतालका लागि विभिन्न शिर्षकमा बजेटको व्यवस्था गरिएको उल्लेख छ।
हेरौं नगरपालिकाको बजेटमा स्वास्थ्यका विषय
• यस नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउन आगामी आर्थिक वर्षमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैया विनियोजन गरिएको छ।
• अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयासँगै सञ्चालन खर्चका लागि थप ३ करोड रुपैयाको व्यवस्था गरिएको छ।
• भनपा वडा नं. १० स्थित बैखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरिएको छ।
• ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट नगरवासीहरुलाई निःशुल्क तथा अन्यलाई न्यून शुल्कमा अक्सिजन उपलब्ध गराउनुका साथै विभिन्न रोगको उपचार र अपरेशनको लागि नगरवासीहरुलाई आवश्यक रगत निःशुल्क प्रदान गर्ने र क्यान्सर, मृगौला रोग, मुटु, मष्तिष्क र मेरुदण्डसम्बन्धी दीर्घरोग लागेका नगरवासीहरुलाई यस नगरपालिकाको तर्फबाट उपचार सहायता अनुदान प्रदान गर्दै आएकोलाई आगामी वर्ष पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ।
• ख्वप अस्पताल लगायत अन्य विशिष्ट अस्पतालहरुको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर परीक्षण, दमखोकी, दाँत तथा नाक कान घाँटी, आँखा लगायतका रोगहरुको निःशुल्क स्वास्थ्य शिविरहरु समुदाय र विद्यालय तहमा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
• घरदैलो नर्सिङ सेवासगै विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्थाको लागि आवश्यक प्रबन्ध गरिएको छ।