काठमाडौं- काठमाडौ महानगरले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका शहरी स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नति गर्ने भएको छ। स्तरोन्नतिसहित स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रुपान्तरण गर्ने महानगरले जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले त्यसका लागि ३५ करोड रकम विनियोजन गरेको जानकारी दिइन्। महानगरवासीहरुका लागि सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजना मार्फत सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उनले बताइन्। यस्तै
महानगरवासीलाई सहुलियत मुल्यमा औषधि उपलब्ध गराउनका लागि सुलभ फार्मेसीको स्वर्णिम योजना कार्यान्वयन गर्न ६ करोड बजेट विनियोजन गरिएको छ।
ध्यान, योग, व्यायाम एवं बैकल्पिक तथा परम्परागत आयुर्वेदिक उपचार पद्दतिका माध्यमबाट आरोग्य जीवन सम्बन्धी कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।
बालबालिकाको स्वास्थ्य उपचारका लागि सरकारी, सामुदायिक वा निजी अस्पतालसंगको सहकार्यमा एक निर्दिष्ट नगर अस्पताल संचालनमा ल्याउन १० करोड बजेट विनियोजन गरिएको छ।
यसैगरी नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा ३५ वटा एम्बुलेन्स खरिद गरि उपलब्ध गराउन ७ करोड रकम विनियोजन गरिएको छ।
यस्तै काठमाडौं महानगरपालिकाको सहयोगमा संचालित एम्बुलेन्स सेवा (१०२ हटलाइन) संचालन गर्न १ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ। महानगरको समग्र स्वास्थ्य तर्फको कार्यक्रमका लागि ९२ करोड ६६ लाख विनियोजन गरिएको छ।