काठमाडौं- भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित ७ बुँदे विषय रहेका छन्।
नीतिमा घरदैलो नर्सिङ सेवादेखि आयुर्वेदिक स्वास्थ्य उपचारलाई वडा-वडामा विस्तार गरिने विषयसम्म रहेका छन्।
हेरौं नीति तथा कार्यक्रममा रहेका स्वास्थ्यका विषय
१) ख्वप अस्पतालमा भौतिक सुधारका साथै आवश्यकताअनुसार स्वास्थ्य उपकरणहरू र जनशक्तिको व्यवस्था गरी आधुनिक प्रविधिसहितको सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिनेछ। उक्त अस्पतालमा सिटी स्क्यानको व्यवस्थाका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ।
२) नगरका विभिन्न स्थानमा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जन स्वास्थ्य केन्द्रबाटसमेत विशेषज्ञ चिकित्सकहरूबाट उपचार प्रदान गरिने छ।
नगरबासीहरूलाई निःशुल्क अक्सिजन वितरण, निःशुल्क रगतको व्यवस्था र गम्भीर रोग लागेका बिरामीहरूलाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ।
३) घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिइने छ र कार्यरत नर्स र स्वास्थ्य स्वयम्सेविकाहरूमार्फत नगरबासीहरूको व्यक्तिगत स्वास्थ्य विवरण तयार गरी थप प्रभावकारी बनाउँदै लगिनेछ।
४) नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणको लागि समय—समयमा वडा वडामा विशेषज्ञहरूसहितको स्वास्थ्य टोलीहरूमार्फत स्वास्थ्य शिविरहरू सञ्चालन गरी थप प्रभावकारी बनाउँदै लगिनेछ। विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ।
५) आयुर्वेदिक स्वास्थ्य उपचारलाई वडा वडामा विस्तार गरिनेछ। भनपा १० बेखालमा निर्माणाधीन स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइने छ र भनपा वडा नं ७ खँचामा स्वास्थ्य केन्द्र निर्माण कार्य अगाडि बढाइने छ।
६) स्वास्थ्य बीमामा सबै नागरिकलाई आबद्ध गराउन नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ।
७) भक्तपुर च्याम्हासिंहमा सञ्चालित ख्वप तीलगंगा आँखा अस्पतालबाट हुने सेवालाई समन्वयात्मक ढङ्गले विस्तार गर्दै लगिनेछ र स्वासप्रश्वास पुनःस्थापना केन्द्रलाई थप प्रभावकारी बनाइनेछ।