काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि, उपकरण, औजार र औषधिजन्य सामग्रीको खरिदलाई व्यवस्थित र मर्यादित बनाउने प्रक्रिया अगाडि बढाउने भएको छ।
सरकारले हालै पास गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा भएको व्यवस्था अनुसार औषधि-उपकरण लगायतका सामग्री खरिदलाई वार्षिक खप अनुमानका आधारमा अगाडि केन्द्रीय बोलपत्र स्थानीय खरिद तथा वितरणको अवधारणा लागू गर्ने तयारी गरेको हो।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा नै उक्त व्यवस्था अनुसार अगाडि बढ्न कानुनी व्यवस्था गर्ने विषय रणनीतिमा उल्लेख छ। स्वास्थ्यमा गरिने लगानीलाई जवाफदेही र पारदर्शी बनाउँदै कुशल व्यवस्थापन मार्फत स्वास्थ्य वित्त सुशासन सदृढ गर्ने रणनीति अनुसार स्वास्थ्य मन्त्रालयले केन्द्रीय बोलपत्र-स्थानीय खरिद तथा वितरणको कानुन ल्याउन लागेको हो।
'संघ, प्रदेश र स्थानीय तहले औजार, उपकरण, औषधि र औषधिजन्य मालसामानहरुको खरिद गर्दा वार्षिक खपत अनुमानको आधारमा केन्द्रीय बोलपत्र-स्थानीय खरिद तथा वितरणको अवधरणा लागू गर्न कानुनी व्यवस्था गरिनेछ,' रणनीतिमा भनिएको छ।
स्वास्थ्यमा आवश्यकताको पहिचान नगरी हचुवाका भरमा औषधि उपकरण खरिद हुँदा धेरै स्थानमा प्रयोगविहिन हुने र आवश्यक स्थानमा नहुने समस्या देखिँदै आइरहेको छ।