काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट पछाडि परेको नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन्।
ललितपुर,च्यासलस्थित पार्टी मुख्यालयमा आज ९औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताएका हुन्।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालमा विस्तार योग विलिन भएर गएको भन्दै योगमा फेरि जागरण आएको र उत्थान गरेर अगाडि लैजान आवश्यक रहेको बताए। नेपालको अहिलेको स्थितिलाई परिवर्तन गर्नका लागि सङ्कल्प, तपस्या र ध्यान आवश्यक रहेको बताए। “बिना सङ्कल्प, बिना तपस्या, बिना ध्यान मुलुकलाई परिवर्तन गर्न सकिँदैन”, उनले भने, “सङ्कल्प, ध्यान र तपस्या गरेपछि विचार आउँछ र सोही विचारले मुलुकलाई परिवर्तन गर्नुपर्दछ।”
अध्यक्ष ओलीले योगको विकास नेपालमा भएकाले योगको भूमि नेपाल रहेको बताए। उनले योग जीवन स्वास्थ्यका लागि आवश्यक रहेको भन्दै योगको सैद्धान्तिक र व्यावहारिक पक्षको पनि अभ्यास गर्न आग्रह गरे।
मानव जीवनलाई सुखी बनाउने कुरामा गौतम बुद्ध, जैन, ऋषिमुनिले चिन्तन गर्दै गएको र अन्त्यमा पतञ्जलिले योगलाई अगाडि सार्ने काम गरेको उनको भनाइ थियो। अध्यक्ष ओलीले शिष्य, गुरु बनाउने तथा शिक्षा र ज्ञानको प्रारम्भ योगबाट नै भएको बताए।
उनले पुराना मन्दिरमा पनि योग देखिने गरेको बताए। “योग दर्शनमा महिलालाई सर्वव्यापी भनेको छ। पुरुषचाँहि स्थिर भनेको छ। योगमा महिलाको स्थान र महत्त्वलाई धेरै माथि राखिएको छ”, उनले भने। उनले स्वस्थ हुनका लागि उपयुक्त आसन र प्रायाणममा अभ्यास गर्नुपर्ने बताए। योगले जता तान्छ त्यतैतिर जानुपर्दछ भन्दै आचरण एकातिर योग अर्कोतिर गर्न नहुने उनको भनाइ थियो। रासस