काठमाडौँ- वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ। बुधवार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ। यो बजेट चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा १ अर्ब २३ करोड कम हो।
बजेटमा आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन नगर अन्तर्गतका सबै स्वास्थ्य चौकीहरुमा विशेषज्ञ सहितको ओपिडी सेवा सञ्चालन गरिने उल्लेख छ। विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख विनियोजन गरिएको छ।
प्रयोगशाला सेवालाई सुपथ र सुलभ तुल्याउन विर्तामा निर्माणाधीन नगर प्रयोगशाला भवनबाट आधुनिक प्रयोगशाला सेवा सञ्चालन गरिने बजेटमा उल्लेख छ।
लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्ने, औषधि छर्किने अभियानका लागि ३५ लाख विनियोजन गरिएको छ।
निर्माणाधीन ५ वटै बर्थिङ सेन्टरहरु आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने उल्लेख छ। नारायणी अस्पतालमा डायलाइसिस सेवा सञ्चालन र प्रसूति सेवा सुधारका लागि विशेष सहयोग गरिने र आर्युवेदिक चिकित्सा पद्दतिप्रति नागरिकको सहभागिता बढाउन आयुर्वेद जागरण कार्यक्रम सञ्चालन गरी विद्यालयहरु तथा सार्वजनिक स्थलहरुमा योगकक्षा तथा योग शिविर सञ्चालन गरिने बजेटमा उल्लेख छ।