काठमाडौँ- नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारीरूपमा दिनुपर्ने बताएका छन्।
निजामती कर्मचारी अस्पतालले सुरु गरेको नर्सिङ क्याम्पसको उद्घाटन कार्यक्रममा उनले सरकारी अस्पतालले प्रभावकारीरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनसके सरकारी अस्पतालको प्रभावकारिता बढ्ने बताए।
मुख्यसचिव डा अर्यालले निजामती अस्पताललाई अनलाइन प्रणालीमा अझ प्रभावकारी बनाउँदै लगेर अस्पतालमा हुने भीडलाई कम गर्नुपर्ने धारणा राखे । अस्पतालमा क्रिटिकल केयरमा नर्सिङ जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै उनले अस्पतालबाट उत्पादन भएको स्वास्थ्य जनशक्तिलाई अस्पतालमा नै राख्नुपर्ने बताए।
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले अस्पतालले स्वास्थ्य सेवालाई सुदृढ बनाउँदै लगेको बताए। उनले अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी)सञ्चालन गर्ने स्थान थोरै भएकोले समस्या भएको बताए।
हाल अस्पतालमा दैनिक आठ सयदेखि एक हजारसम्म बिरामी आउने गरेको जानकारी दिँदै उनले ओपिडी सेवा व्यवस्थापन हुँदा यसलाई बढाएर एक हजार पाँचसयसम्म पुर्याउन सकिने बताए। कार्यकारी निर्देशक डा.पौडेलले अस्पतालले शैक्षिक कार्यक्रम ल्याउँदै अध्यापनलाई प्राथमिकता दिने बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा.भूपेन्द्रकुमार बस्नेतले न्याम्सले चिकित्सक, नर्सलगायत स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन गरिरहेको भन्दै उत्पादित जनशक्तिलाई नेपालमै राख्ने वातावरण हुनुपर्ने बताए।
नेपालको स्वास्थ्य जनशक्ति विदेशिने प्रवृत्ति बढेको भन्दै उनले विदेश पलायन हुने दर बढेमा नेपालको स्वास्थ्य क्षेत्रमा समस्या हुने बताए।
हाल निजामती अस्पतालले यही वर्षदेखि २० जना क्रिटिकल नर्सिङ जनशक्ति उत्पादन गर्नका लागि चिकित्सा शिक्षा आयोगबाट स्वीकृति पाएको हो।
अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन भइरहेको छ। अस्पतालमा चाँडै नै दुई सय ५० शय्या पुर्याउने लक्ष्य राखिएको छ। चीन सरकारले बनाइदिएको उक्त अस्पताल २०६५ जेठ १६ गतेदेखि सञ्चालन आएको हो।