काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल गडबढ भएपछि पेसमेकर राखिएको छ। मुटुको चालमा कमी आएने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको हो।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेलको सेन्टरका निर्देशक डा रत्नमणि गजुरेलको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुको सुझाव अनुसार पेसमेकर राखिएको हो। पेसमेकर राख्नुअघि राष्ट्रपति पौडेलको मुटुको चाल ७२ घण्टासम्म मनिटरिङ गरिएको थियो। पेसमेकर राखेपछि राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरले जानकारी दिएको छ।
'राष्ट्रपति पौडेल यस सेन्टरमा असार २ गतेदेखि उपचाररत हुनुहुन्छ। ७२ घन्टाको नियमित निगरानीका क्रममा उहाँको मुटुको चाल बेला बखत कम हुने देखिएकाले विशेषज्ञहरुको राय बमोजिम पेसमेकर राख्नु पर्ने देखिएकाले आजै (मंगलबार) सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ,' कार्यकारी निर्देशक डा गजुरेलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
पेसमेकर के हो? यो कस्तो अवस्थामा गरिन्छ? यस्तो छ वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनबहादु केसीले यस विषयमा दिएको जानकारी:
सामान्य भाषामा भन्नु पर्दा पेसमेकर धातुको सानो यन्त्र हो। जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पुर्याउन संभव बनाइएको हुन्छ। मुटुको चाल कम भएपछि त्यसलाई बढाएर सामान्य बनाउन बनाइएको एक किसिमको यन्त्रलाई पेसमेकर भनिन्छ।
यो धातुको यन्त्र सानो कम्युटर जस्तो हुन्छ जसले मुटुको धड्कन पहिचान र निगरानी गरेको हुन्छ। मुटुको धड्कन कम हुँदा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्व निर्धारित गरेको गतिमा विद्युतिय करेन्ट निकाल्छ। मुटु सोही अनुरुप धड्कन्छ। आफ्नै मुटुको धड्कन ठिक भएको अवस्थामा पेसमेकर चुप लागेर बस्दछ।
विश्वमै १९६० बाट पेसमेकरको उपचार सुरु भएको हो। मुटुको चाललाई छिटोबाट ढिलो बनाउने औषधि पाइन्छ। तर ढिलोलाई छिटो बनाउने औषधि त्यति प्रभावकारी छैनन्। तर पेसमेकरले त्यो सम्पूर्ण गडबडीलाई सन्तुलनमा ल्याउँछ।
यो एक किसिमको ब्याट्री हो, यसको आयु कम्तीमा पनि ८ वर्षको हुन्छ। ब्याट्री सकिन लागेको या सकिन कति समय बाँकी छ जस्ता कुरा पहिले नै थाहा हुने भएकाले अहिले यसलाई सजिलो उपचार मानिन्छ। तसर्थ मुटुमा त्यो मेसिन जडान गरेपछि चालको गडबढीले हुने समस्याबाट जोगिन सकिन्छ।
मुटु एउटा शक्तिशाली मांशपेशीय अंग हो। जसले शरीरको विभिन्न अङ्गमा रगत पम्प गर्ने काम गर्दछ। मुटुमा चार कोठा हुन्छन्। दायाँ अरिकल र भेन्ट्रीकल, बायाँ अरिकल र भेन्ट्रीकल। वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक जति धड्कन्छ। मुटु धड्कनको लागि मुटुमा विद्युतीय करेन्ट निस्कनु पर्ने हुन्छ। जुन साधारणतया साइनस नोडबाट निस्केको विद्युतीय करेन्ट अरिकल र भेन्ट्रीकलको बीचमा रहेको ए.भी नोड हुँदै भेन्ट्रीकलमा प्रवेश गर्दछ र मुटु धड्कन्छ।
मुटुको धड्कन आवस्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुन्छ। यसले गर्दा बिरामीहरुलाई चक्कर लाग्ने, सास फेर्न गाहे हुने, मुर्छा पर्ने र मृत्यु समेत हुनसक्छ। यो मुख्यतः दुईवटा कारणले हुने गर्दछ। एउटा साइनस नोडमा गडबडी देखिएमा जसलाई सिक साइनस सिन्ड्रम र अर्को ए.भी. नोड मा गडबडी देखिएमा जसलाई हार्टब्लक भनिन्छ। यस्तो अवस्थामा पेसमेकर राखिन्छ। पेसमेकरले जीवनलाई सहज बनाउन र मुटुको अवस्था जानकारी गराउँन मद्दत गर्छ।
पेसमेकरलाई विभिन्न नाममा तीन/चार प्रकारमा छुट्याइन्छ। तर सामान्यतया पेसमेकर दुई प्रकारका हुन्छन्। सिंगल च्याम्बर पेसमेकर र डबल च्याम्बर पेसमेकर। सिंगल च्याम्बर पेसमेकरमा दाँया अरिकल या भेन्ट्रीकलमा एउटा तार गएको हुन्छ र डबल च्याम्बर पेसमेकरमा दायाँ अरिकल र भेन्ट्रीकलमा एक वटा तार भएको हुन्छ। पेसमेकर राख्न बिरामीलाई बेहोस पार्नु पर्दैन। माथिल्लो छातिको भागमा छाला लाटो पार्ने सुई दिएर करिब दुई इञ्चको घाउ बनाई छालामुनि पेसमेकर ब्याट्री राखिन्छ। पेसमेकर तार हुँदै मुटुको कोठामा लगिन्छ र ब्याट्रीसँग जोडिन्छ।
पेसमेकर राखेकाहरूले दैनिक जीवनमा विभिन्न क्रियाकलापमा ध्यान दिनुपर्छ। पेसमेकर राख्ने शल्यक्रिया गरेको शुरूका केही दिनहरुमा यन्त्र राखेको तर्फको हात धेरै चलाउन हुदैन। डाक्टरको सल्लाहअनुसार केही दिनपछि दैनिक क्रियाकलाप घुम्न जाने, गाडी चलाउने, नुहाउने, पौडी खेल्ने, यौनसम्पर्क गर्ने, पेशागत काममा जाने, हिँडडुल गर्ने र फुटबल खेल्ने गर्न सकिन्छ। यन्त्र राखेपछि चक्कर लागेमा, घाउ पाकेमा, पेसमेकर राखेको तर्फको हात सुन्निएमा तुरुन्तै सम्बन्धित डाक्टरसँग सल्लाह लिनुपर्छ।
दैनिक जीवनमा देखिने धेरैजसो विद्युतीय उपकरणले पेसमेकरलाई असर गर्दैन तर कहिलेकाँही कुनै विद्युतीय उपकरणहरू माइक्रोवेभ, टेलिभिजन, रेडियो, मोबाईल, हेयर ड्रायर, वासिङ मेसिनको नजिक जाँदा चक्कर लागेमा त्यस्ता उपकरणलाई बन्द गर्ने या टाढा जाने गर्नुपर्छ। यस्ता उपकरणमा प्रयोग भएका ब्याट्रीको धेरै नजिक हुँदा पेसमेकरलाई असर गर्ने हुन सक्दछ। तर यो असर तत्कालीन मात्रै हुन्छ। मोबाईल फोनलाई पर हटाउने वित्तिकै यसको असर हटेर जान्छ। त्यसैगरी फोन उठाउँदा समेत पेसमेकर राखेको तर्फको भन्दा अर्को हातले उठाउँनु राम्रो हुन्छ।
एयरपोर्ट जस्ता संवेदनशील ठाउँमा राखिएका स्क्रिनिङ उपकरणले पेशमेकरलाई असर गर्दैन्। तर यसले धातुलाई पहिचान गर्ने हुँदा यस्ता ठाउँमा पेसमेकर परिचयपत्र देखाउनुपर्ने हुन्छ। पेसमेकर परिचयपत्र जहिले पनि आफुसँगै राख्नुपर्ने हुन्छ।
मुटुको चालमा किन गडबडी आउँछ?
मुटुको चालमा गडबडी आउने कारण धेरै छन्। मुटुको चाल धेरै हदसम्म उमेरसँग सम्बन्धित छ। बच्चामा भने मुटुको चालको गडबडी अलि कम हुन्छ। जति उमेर बढ्दै गयो चालको गडबडीको समस्या त्यति नै देखापर्ने हुन्छ। त्यसलाई डाक्टरी भाषामा डिजेनेरेटिभ चेन्ज भनिन्छ। र मुटुको चालको अध्ययनलाई कार्डियाक इलेक्ट्रोफिजियोलोजी भन्ने गरिन्छ।
जुन ठाँउबाट मु्टुको चाल निस्किन्छ र पास हुन्छ, त्यस्तो ठाँउमा हुने गडबडी उमेरसँगै फरक पर्ने हुन्छ। कतिपयमा यो गडबडीको समस्या वंशाणुगत पनि भएको पाइन्छ, तर यस्तो गडबडीले विषेशत बुढ्यौलीमा असर पर्छ। ती बाहेक पनि विभिन्न रोगको कारण मुटुको गडबडीको समस्या आउने हुन्छ।
कहिलेकाहीं मुटुको चाल पास हुने ठाँउमा रक्तसञ्चार कम हुँदा पनि गडबढी देखिन्छ। जसलाई हामी हृदयघात भन्छौं। एबी नोड तथा बन्डल ब्रन्चमा (जहाँबाट मुटुको चाल पास हुन्छ) हुने संक्रमणको कारण पनि मुटुको चालमा गडबढी आउँछ। त्यसमा अझै धेरै प्रभावित हुने भनेको बुढ्यौली उमेर नै हो।