काठमाडौं- कारागारहरुमा रहेका कैदी बन्दीहरुको स्वास्थ्यमा विशेष ध्यान दिदै विशेषज्ञ स्वास्थ्य शिविर तथा स्क्रिनिङ हेल्थ क्याम्पको आयोजना गरिएको छ।
गत २९ जेठ देखि सुरु भएको शिविरमा अहिलेसम्म ४ हजार बढीले सेवा लिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार महिला बन्दी सुधार गृहमा ५ सय बढी, भद्र बन्दी सुधार गृहमा ६५८ बढी, केन्द्रीय सुधार गृह जगन्नाथ देवलमा १ हजार २०० र डिल्लीबजार सुधारगृहमा ७०० बढी कैदीवन्दीहरुले सेवा लिएका छन्। त्यसबाहेक सुधारगृहमा कार्यरत अरु कर्मचारी, प्रहरी तथा स्वास्थ्यकर्मी गरी कुल ४ हजार बढीले सेवा पाएका हुन्।
डा बुढाथोकीले शिविरमा प्रसुती गृहका महिला तथा स्त्रीरोग बिशेषज्ञहरु,मानसिक अस्पतालका मानसिक रोग बिशेषज्ञहरु,ट्रमा सेन्टरका हाड जोर्नी बिशेषज्ञहरु,वीर अस्पतालका छातीरोग बिशेषज्ञहरु,ईन्र्टनीष्ट, ईन्डोक्राईनोलोजिष्टहरु,छालारोग बिशेषज्ञहरु तथा केन्द्रीय कारागार अस्पतालका बिशेषज्ञ,चिकित्सक,ल्याब,नर्र्सिड्ड र स्वास्थ्यकर्मीहरु गरी ३ दर्जन बढीले सेवा प्रदान दिएका थिए।
त्यस्तै केन्द्रिय कारागार अस्पताल,स्वास्थ्य सेवा समाज र प्रीजन फाउन्डेसनको प्राविधिक सहयोगमा क्षयरोग, एचआईभी/एडस, रक्तचाप, सुगर लगायत भाईटलसहरुको स्क्रिनिड्ड गरिएको पनि थियो।
यसबाट लुकेर बसेका समस्याहरु समेत पहिचान भएको र उपचारको दायरामा ल्याईएको बताइएको छ।
त्यस्तै बिशेषज्ञ शिविरबाट.जटिल प्रकारका रोगहरु समयमा नै पत्ता लगाई अस्पताल र उपयुक्त बिशिष्टिकृत अस्पतालमा प्रेशण गर्नका साथै कैदीबन्दीहरुको सामुहिक बसाई,खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे ब्यक्तिगत सरसफाई, खानपिन, जीवनशैली लगायतमा आदतबानीमा सुधार ल्याउने समेत आकंलन गरिएको छ।
डा बुढाथोकीले यस्तो शिविर देशका अन्य सुधारगृहमा पनि सञ्चालन गरिने बताए।